आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस म्याग्दीले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको छ । शुक्रबार बेनीस्थित पार्टी कार्यालयमा जिल्ला कार्यसमिति, केन्द्रीय महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिको संयुक्त बैठकले प्रत्यक्षतर्फ दुई जना र समानुपातिकतर्फ चार जनाको नाम सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ म्याग्दीबाट जिल्ला सभापति समेत रहनुभएका निवर्तमान उर्जा, जलस्रोत तथा सिँचाइ राज्यमन्त्री खमबहादुर गर्बुजा ‘खम्बीर’ र उपसभापति कर्णबहादुर भण्डारी (केवी) नाम सिफारिस गरेको जिल्ला सचिव हिराबहादुर पुनले जानकारी दिनुभयो ।
उहाँका अनुसार, प्रतिनिधिसभा समानुपातिकतर्फ त्रिलोकचन्द (विश्वास) विश्कर्मा, पिपला बुढा, डिल बहादुर विश्वकर्मा र बागबिर दमाईको नाम सिफारिस गरिएको छ । त्यस्तै राष्ट्रियसभा निर्वाचनका लागि पुरुषतर्फ नेत्र बहादुर महत र महिलातर्फ निर्मला श्रेष्ठको नाम सिफारिस गरी केन्द्रमा पठाएको हो ।







