एउटा खेलाडी उत्कृष्ट खेलले कति फरक पार्छ प्रतियोगितामा ? म्याग्दीको सदरमुकाम बेनीमा बिहिबारदेखि सुरु भएको ११ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा रघुगंगा गाउँपालिकाले ६ स्वर्ण पदक जित्दा रघुगंगा–२ पञ्चासेकी सोनिया खड्काले एक्लै दुई स्वर्ण जोड्न सफल भइन् । प्रतियोगितामा १५ सय मिटरमा स्वर्ण जितेकी भण्डारीले ३ हजार मिटरको दौडमा पनि सानदार खेल प्रर्दशन गदैं स्वर्ण पदक दिलाइन् । अघिल्लो बर्षको विजेता रघुगंगा यसपटक तेस्रो स्थानमा खुम्चिएपनि सोनियाको खेल प्रर्दशनबाट सिंगो गाउँपालिकाको चर्चा छ ।
उनी एथलेटिक्समा सहभागि भएपछि हरेक खेलमा पदक विहिन हुनुपरेको छैन । मुक्तिथाम मावि भगवतीमा कक्षा १० मा अध्ययनरत सोनिया बि.स २०८० सालबाट पालिका र जिल्लास्तरीय मात्रै नभई प्रदेशबाट समेत स्वर्ण पदक जितेकी छन् । जिल्लामा विद्यालयस्तरीय एथलेटिक्स विधाका खेलमा सोनियाको दबदबा कायम मात्रै गरिन् हरेक प्रतियोगितामा उनको फुर्तिलोपनको चर्चा हुन्छ । प्रतियोगिताको हरेक विधामा निर्धारित समयमै तिब्र गतिको धाबक जस्तै दौडिएर दर्शकलाई समेत चकित पारिन् । एथलेटिक्स अन्तरगतका खेलको अनुभवी प्रशिक्षकबाट तालिम लिने सोनियाको चाहना छ ।

गाउँघरमा सामान्य अभ्यास तथा प्रदेशस्तरीय प्रतियोगिताको अनुभवले यसपटक खेलमा सुधार भएपनि अझै राम्रो गर्ने उनको भनाई छ । ‘मैले विद्यालय र जिल्लाका लागि पदक जितिसकेको छु, अब राष्ट्रका लागि जित्न चाहन्छु’ सोनियाले भनिन् । उनले शिक्षा र खेललाईसँगै लैजाने बताउँदै भविष्यमा नेपालबाट अन्तर्राष्ट्रिय एथ्लेटिक्स खेलाडी बन्ने लक्ष्य लिएको बताइन् ।
सोनियाले विद्यालयस्तरीय खेलमात्रै नभई म्याग्दी बहुमुखी क्याम्पसको ३४ औँ वार्षिकोत्सवको अवसरमा बिहिबार आयोजित विद्यालय तथा क्याम्पसस्तरीय ८ किलोमिटर दौड (रोड रेस) प्रतियोगिता समेत जितेकी थिइन् ।

सोनियाको खेल नजिकबाट हेरेका जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले आगामी दिनमा तालिम सहितका अन्य अवसरमा कुनै कमी नहुने बताए । ‘एथलेटिक्स विधामा अलराउन्ड सोनियालाई तालिममा कुनै कमी हुन्न, प्रतिभावान खेलाडी हाम्रो नजरमा छन्’ अध्यक्ष श्रेष्ठले भने । जिल्लास्तरीय खेलमा छनौट भएका खेलाडीलाई प्रदेशस्तरीय प्रतियोगिता अगाडी प्रशिक्षण सहितका कार्यक्रम ल्याउने अध्यक्ष श्रेष्ठले बताए । यसपटक प्रदेशमा पहिलो हुन खेलाडीलाई कुनै अभाव महसुस हुन नदिने जिल्ला खेलकुद विकास समितिले जनाएको छ ।






