म्याग्दी जिल्लाका साहित्यकार अजयमिलन श्रेष्ठ ‘डिल्लीराधा पुरस्कार’द्वारा सम्मानित हुनुभएको छ । कुश्मा बजारस्थित पर्वत साहित्य सङ्गमले स्थापना तथा व्यवस्थापन गरेका विभिन्न पुरस्कारहरूबाट धौलागिरि क्षेत्रका साहित्यकार तथा कला सर्जकहरूलाई दुई वर्षको अन्तरालमा सम्मानित गर्ने शिलशिलामा श्रेष्ठलाई उक्त पुरस्कार प्रदान गरिएको हो ।
नेपाली भाषा, साहित्य, कला, शिक्षा क्षेत्रमा पुर्याएको अतुलनीय योगदानको उच्च कदर गर्दै सर्जकहरूलाई सम्मान एवम् पुरस्कार वितरण गर्न आयोजित कार्यक्रममा श्रेष्ठ लगायत राजेन्द्र पहाडी, मोहनबहादुर मल्ल साहित्य प्रतिष्ठान, गोविन्दप्रसाद भुसाल, सरस्वती शर्मा ‘जिज्ञासु’, लक्ष्मीप्रसाद शर्मा पौडेल, जगन्नाथप्रसाद लम्साल, मछिन्द्रप्रसाद शाक्य र सुशील थकालीलाई संस्थाको नीति बमोजिम नगद पुरस्कार, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
कुश्मास्थित नमुना आवासीय माविको सभाहलमा शनिवार आयोजित उक्त कार्यक्रमको अध्यक्षता खेमराज शर्मा चापागाईले गर्नुभएको थियो । फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीको प्रमुख आतिथ्यता र संस्थाका सचिव गोकुल शर्माको सञ्चालनमा सम्पन्न कार्यक्रममा पुरस्कार कोषका संस्थापकहरूलाई समेत सम्मान गरिएको थियो ।









