अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा अनुसन्धान गर्नु पर्नेभनी सुचना दिएपछी म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीलाइ गृह मन्त्रालयले फिर्ता बाेलाएकाे छ । उनलाई म्याग्दीको सीडीओबाट फिर्ता बोलाइएको गृह मन्त्रालयका प्रवक्ता आनन्दप्रसाद काफ्लेले जानकारी दिए ।
उनलाई अहिले मन्त्रालयको अतिरिक्त समूह जगेडामा राखिएको मन्त्रालयको कर्मचारी शाखाले जानकारी दिएको छ । तिवारीलाई तानेर म्याग्दीको प्रमुख जिल्ला अधिकारीमा मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाका प्रमुख तथा मन्त्रालयका सूचना अधिकारी उपसचिव रवीन्द्र आचार्यलाई पठाइएको प्रवक्ता काफ्लेले जानकारी दिए ।
तिवारीमाथि भिजिट भिसा सेटिङ प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ । तिवारी निवर्तमान गृहमन्त्री रमेश लेखकको निजी सचिव थिए । यसअघि मोरङ र काठमाडौँको सहायक सीडीओ बनेका आचार्य मनाङ र ताप्लेजुङको सीडीओ भएर काम गरिसकेका छन् ।
तत्कालीन गृहमन्त्री लेखकको निजी सचिव रहेकै बेलामा भिजिट भिसा प्रकरण सतहमा आएपछि तिवारी म्याग्दीको सिडिओ भएर गएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मङ्सिर २५ गते विशेष अदालतमा दायर गरेको भिजिट भिसा सेटिङसम्बन्धी आरोपपत्रमा तिवारीमाथि अनुसन्धान भइरहेको उल्लेख गरेको छ ।
त्यो प्रकरणमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन, कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भइसकेको छ ।








