---Advertisement---

नेकपा एमालेको ११औं राष्ट्रिय महाधिवेशन ः म्याग्दीबाट केन्द्रीय सदस्यमा चार जनाको उम्मेदवारी

On: December 16, 2025 9:16 AM
Follow Us:

नेकपा एमालेको केन्द्रीय कमिटी सदस्य पदमा म्याग्दी जिल्लाबाट विभिन्न चार जनाको उम्मेदवारी दर्ता भएको छ । काठमाडौँको भृकुटीमण्डपमा जारी एमालेको ११औं राष्ट्रिय महाधिवेशनको बन्दसुत्रमा म्याग्दीबाट भूगोल, आदिवासी जनजाति महिला र युवा कलष्टरमा चार जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।

उम्मेदवारी दर्ता गराउनेहरुमा गण्डकी प्रदेशको भूगोल (खुला)तर्फ हरिकृष्ण श्रेष्ठ, आदिवासी जनजाति महिला कलष्टरमा थममाया थापा र नरदेवी पुन तथा गण्डकी प्रदेशबाट युवा कलष्टरमा प्रकाश पौडेलले आ–आफ्नो उम्मेदवारी दर्ता गराएको नेकपा एमाले म्याग्दीले जनाएको छ । प्रदेशको भूगोल खुलामा उम्मेदवारी दिनुभएका श्रेष्ठ हाल नेकपा एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्छ ।

यसैगरी आदिवासी जनजाति महिला कलष्टरमा उम्मेदवारी दिनुभएकी महिला नेतृ थापा एमालेको स्थायी कमिटी सदस्य एवं पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री भैसक्नुभएको छ । त्यस्तै सोही कलष्टरमा उम्मेदवारी दर्ता गराउनुभएकी अर्की नेतृ पुन एमालेको केन्द्रीय सदस्य तथा म्याग्दीको पालिकाहरुको इन्चार्ज हुनुका साथै पूर्व पशुपंक्षी विकास राज्यमन्त्री तथा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री बनिसक्नुभएको छ । दुवैजना महिला नेतृहरु मन्त्री पदमा रहँदा विवादरहित ढङ्गले आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएको थियो ।

केन्द्रीय सदस्य पदको उम्मेदवार बन्नुभएका गण्डकी प्रदेश सचिवालय सदस्य श्रेष्ठ यसअघि नेकपा एमाले म्याग्दीको दुई कार्यकाल अध्यक्ष भई सफलतापूर्वक नेतृत्व गर्नुभएको थियो । जिल्लाको विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व गरिसक्नुभएका श्रेष्ठ वि.सं. २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित भई जनपक्षीय कामहरु गर्नुभएको थियो । उहाँ एमालेको अध्यक्ष भएको बेलामा २०७० सालको दोस्रो संविधान सभाको निर्वाचन र २०७४ सालको प्रतिनिधि सभा सदस्य पद तथा प्रदेश सभा (ख)को निर्वाचनमा एमाले उम्मेदवारलाई अत्यधिक मतसहित विजयी गराउन सफल र नेतृत्वदायी भूमिका निभाउनुभयो ।

केन्द्रीय सदस्य पदका उम्मेदवार श्रेष्ठ २०६६ सालमा पहिलोपटक एमाले म्याग्दीको जिल्ला अध्यक्ष बन्नुभएको थियो । अध्यक्षमा पुनः दोहोरिएपछि उहाँले म्याग्दीमा एमालेको लामो समयसम्म नेतृत्व गर्नुभयो भने जिल्लाको विभिन्न संघसंस्थाहरुमा एमालेको वर्चस्व कायम गराउनुका साथै जिल्लामा सङ्गठन विस्तारलाई तीव्रता दिएर बलियो र सशक्त पार्टी बनाउनुभएको थियो । उम्मेदवार श्रेष्ठले आफू विगत लामो समयदेखि पार्टीको विभिन्न जिम्मेवारीमा रहेर कुशल नेतृत्व गरेको हुँदा अहिले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको बताउँदै आफूलाई मत दिएर विजयी गराउन प्रतिनिधिहरुलाई अपिल समेत गर्नुभएको छ ।

महिला नेतृद्वय थापा र पुन पनि म्याग्दी जिल्लामा एमालेको राजनीतिमा विगत लामो समयदेखि क्रियाशील रहेर पार्टीलाई सशक्त बनाउनुका साथै निर्वाचन जित्न र पार्टी तथा सरकारको प्रतिनिधिका रुपमा रहेर विभिन्न जिम्मेवारी सफलतापूर्वक पुरा गर्नुभएको थियो । यता युवा कलष्टरमा उम्मेदवारी दिनुभएका नेता प्रकाश पौडेल पनि विद्यार्थी उमेरदेखि नै चुनावलगायत पार्टीका विभिन्न कार्यक्रम र गतिविधिहरुमा गीत गाउँदै हिँड्नुभएको हो । उहाँ अनेरास्ववियु म्याग्दीको विभिन्न जिम्मेवारीमा रहेर अध्यक्ष भई गण्डकी प्रदेश कमिटी हुँदै केन्द्रीय सचिव भएर अध्यक्षमा चुनाव लड्नुभएको थियो । नेता पौडेल अनेरास्ववियुको कन्द्रीय अध्यक्ष पदमा जम्मा ७ मतको झिनो अन्तरले पराजित हुनुभएको थियो ।

Leave a Comment