म्याग्दीको बेनी स्थित न्यु वेष्ट पोइन्ट आवासीय माध्यमिक विद्यालयले मंगलबार आफ्नो ३३औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा मनाएको छ। विद्यालय प्राङ्गणमा आयोजित कार्यक्रममा सम्मान पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम र विज्ञान प्रदर्शनी सहितका विविध गतिविधिहरू प्रस्तुत गरिएको थियो।
कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि जिल्ला समन्वय समितिका कार्यवाहक अध्यक्ष दिल कुमारी खत्रीले १,५८० विद्यार्थीले अध्ययन गर्ने विद्यालयको गतिविधिबाट आफू निकै प्रभावित भएको बताउनुभयो। उहाँले हालको समय अत्यन्तै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै भन्नुभयो, “आजका विद्यार्थीहरू सूचना प्रविधिको युगमा रहेकोले उनीहरूको मानसिकता र रुचिलाई बुझेर पढाउनुपर्ने आवश्यकता छ।”

शिक्षक अभिभावक संघका अध्यक्ष विष्णुकुमारी रोकाले सम्पूर्ण अभिभावकको प्रतिनिधित्व गर्दै १,५८० जना विद्यार्थीका सबै अभिभावकसँग प्रत्यक्ष सम्पर्क नहुन सक्ने भए पनि सबैको भावना र चाहना बुझेर शैक्षिक विकासको लागि व्यवस्थापनसँग सहकार्य गरेको बताउनुभयो।
नेपाल रेडक्रस सोसाइटी म्याग्दीका सभापति अमर बानियाले वेष्ट पोइन्ट विद्यालय शैक्षिक तथा अन्य क्रियाकलापमा उत्कृष्ट रहेको प्रशंसा गर्दै यसको निरन्तरताको शुभकामना दिनुभयो। नेपाल पत्रकार महासंघका कार्यवाहक अध्यक्ष अमित विश्वकर्माले वेष्ट पोइन्ट विद्यालयको बारेमा पत्रकारिता मार्फत धेरै लेख्ने गरेको र आज कार्यक्रममा प्रत्यक्ष रूपमा देख्न पाउँदा खुसी लागेको बताउनुभयो। विद्यालयका प्रिन्सिपल डीबी दाहालले शैक्षिक सत्र २०८१-०८२ को प्रतिवेदन र भावी योजना प्रस्तुत गर्नुभएको थियो। वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न क्षेत्रका व्यक्तिहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ।

सम्मानित हुनेहरूमा: १० वर्ष र १५ वर्ष सेवा गर्ने शिक्षक तथा कर्मचारीहरू, उत्कृष्ट शिक्षक र कर्मचारीहरू, अभिभावकहरू, २०८१ को SEE र SLC मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीहरू र अभिभावक दिवसको अवसरमा आयोजित खेलकुद प्रतियोगिताका विजयी अभिभावक खेलाडीहरूलाई पनि सम्मानित गरिएको थियो। विशेष गरी वेष्ट पोइन्टबाट विद्यालय, +२ र बीबीएस उत्तीर्ण गरी देश तथा विदेशका विभिन्न विश्वविद्यालयबाट स्नातक र विद्यावारिधि हासिल गर्ने पूर्व विद्यार्थीहरूलाई ‘वेष्ट पोइन्ट सम्मान’ प्रदान गरिएको थियो।
कार्यक्रम अन्तर्गत विद्यालयको विज्ञान प्रयोगशालामा विद्यार्थीहरूले तयार पारेका प्रयोगात्मक सामग्री तथा प्रदर्शनहरू प्रस्तुत गरिएको थियो। विज्ञान शिक्षालाई व्यवहारिक र प्रयोगमुखी बनाउने उद्देश्यले गरिएको प्रयोगशाला अवलोकनमा अभिभावक, शिक्षक तथा अतिथिहरूले चासोका साथ सहभागिता जनाएका थिए।
मन्टेसरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले रंगीन सांस्कृतिक कार्यक्रम, गीत र नृत्य प्रस्तुत गरेका थिए। कार्यक्रम वेष्ट पोइन्ट एजुकेशन फाउन्डेसन म्याग्दी प्रालीका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो। भाइस प्रिन्सिपल सरोज लकान्द्रीले स्वागत मन्तव्य राख्नुभएको थियो भने कृष्ण जिसीले कार्यक्रम संचालन गर्नुभएको थियो।









