म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी सामुदायिक माध्यमिक विद्यालयमा भीम बहादुर घर्तीलाई प्रधानाध्यापक नियुक्ति गरिएको छ । विद्यालय ब्यवस्थापन समितिको निर्णयबाट शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले शिक्षा नियमावली२०५९ संसोधन सहितको नियम ९३ अनुसार ५ बर्षका लागि प्रअमा नियुक्ती गरेको हो । इकाई प्रमुख विदुर चापागाई शर्माले प्रअ घर्तीलाई नियुक्ती पत्र हस्तान्तरण गदैं कार्यकाल सफलताको शुभकामना ब्यक्त गर्नुभएको थियो ।
म्याग्दीको मालिका गाउँपालिका वडा नं २ रुम निवासी घर्ती राहत, अस्थायी र दरबन्दी सहित १४ बर्ष ८ महिनादेखि शिक्षण पेशामा आवद्ध हुनुहुन्छ । नीजि विद्यालयबाट शिक्षण पेशामा प्रवेश गर्नुभएका घर्तीले देविस्थानको गौवमबस्त्र माविममा निमावी राहत विज्ञानबाट सामुदायिक विद्यालयमा आवद्ध हुनुभएको थियो । राहत, अस्थायी हुदै माध्यमिक तह तृतिय श्रेणी विज्ञान विषयको स्थायी शिक्षक भएसँगै बेनी सामुदायिक माविमा ६ बर्ष ८ महिनादेखि अध्यापनरत हुनुहुन्छ ।

यसअगाडी विद्यालयका सहायक प्रअको जिम्मेबारी समेत सम्हाल्नुभएका घर्तीले प्रअको जिम्मेबारी सम्हाल्दैं आफ्नो क्षमता, विद्यालयका सहकर्मीहरुको साथ र अभिभावक तथा सरोकारवाला निकायसँगको समन्वयमा विद्यालयलाई थप उचाईमा पुर्याउने बताउनुभयो ।
यसअगाडी विद्यालयका निर्वतमान प्रअ दीपक श्रेष्ठले अवकाश लिएपछि विद्यालय, अभिभावक तथा विद्यार्थीले पञ्चेबाजा बजाएर बेनबिजार बजार परिक्रमा गराएर अभिनन्दन गरेर बिदाइ गरिएको थियो । निर्वतमान प्रअ श्रेष्ठको विदाईको निकै चर्चा भएको थियो ।
यता प्रअ घर्ती विद्यालयमा कार्यरत बरिष्ठ र प्रअका लागि योग्य शिक्षक भएकाले नियुक्ती गरिएको इकाई प्रमुख चापागाईको भनाई छ। इकाई प्रमुख चापागाईले नियमानुसार प्रधानाध्यापक नियुक्त गर्न, गराउन सबै विद्यालयहरुलाई ध्यानाकर्षण गराएको बताउनुभयो । जिल्लाका सबै स्थानीय तहलाई यसअगाडी नै सेवा अवधि समाप्त भएका विद्यालयहरुले नियमानुसार आवश्यक प्रक्रिया पूरा गरी प्रधानाध्यापक नियुक्ति गर्न परिपत्रअनुसार सबै विद्यालयलाई सम्बोधन गरेर सूचना जारी गरेको छ ।









