यसबर्ष देखि म्याग्दीको धवलागिरी गाउँपालिका–४, मुदीमा अवस्थित विश्वको सातौँ अग्लो धौलागिरि हिमाल आरोहण दिवस म्याग्दीमा मनाइने भएको छ ।
विगतमा धौलागिरी आरोहण दिवस पोखरामा मनाउने गरिएकोमा गएको मंसीर २१ गते बसेको गाउँपालिकाको कार्यपालिका बैठकले दिवस मनाउने निर्णय गरेको हो । गाउँपालिकाभित्र उपयुक्त स्थान छनौट गरी दिवस मनाउने गरी आवश्यक तयारी सहित गण्डकी प्रदेश सरकार तथा सरोकारवाला निकायलाई समेत सहयोग माग गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पौडेलले बताउनुभयो ।
दिवस मे १५ मा मनाउने सहित अन्य थप तयारीका लागि प्रदेश सरकारसँग समन्वय गरिने छ ।धौलागिरी हिमाल आरोहण गरेको ६६ बर्षसम्म म्याग्दीमा एउटा पनि कार्यक्रम नगरिएकोमा गाउँपालिकाको पहलमा हुने कार्यक्रमलाई सहयोग गर्न पर्यटन क्षेत्रसँग सम्बन्धित निकायलाई समेत अनुरोध गरिएको छ ।
गाउँपालिकाले दिवस मनाउने निर्णय गरेपनि आवश्यक बजेटसहित जानकारीका लागि यही साता मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई समेत अनुरोध गर्ने गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनले बताउनुभयो । धौलागिरी पदयात्रा, समस्या र चुनौतीसँगै अवसर र सम्भावनाका बारेमा समेत दिवसमार्फत उजागर गर्ने गाउँपालिका अध्यक्ष पुनको भनाई छ । ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्ण आचार्यले दिवस म्याग्दीमा मनाउन सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
विगतमा टानको प्रयासमा आरोहण दिवसको सम्झना गर्ने गरिएकोमा यसपटक गाउँपालिकामा मनाउन आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने बताउनुभयो । धौलागिरी हिमालको पदमार्ग तथा सञ्चार सहितका आधारभुत सुविधाको अभावका कारण आरोही र पदयात्रामा जान चाहनेलाई समेत समस्या हुने गरेको छ ।

विश्वमा ८ हजार मिटर अग्लो १४ हिमालमा नेपालमा ८ वटा छन् जसमा सातौं अग्लो धौलागिरी र १० औं अग्लो अन्नपूर्ण हिमाल म्याग्दीमा पर्छ । म्याग्दीको पर्यटन प्रवद्र्धन, संरक्षण र विकासका कार्यमा ढिलाइ हुदाँ धेरै सम्भावनाहरु गुमेको अवस्थामा एकजुट हुनुपर्ने धौलागिरी पर्यटन परिषद् म्याग्दीका अध्यक्ष अमर बानियाँको भनाई छ।

धौलागिरि हिमाल आरोहण गर्न सर्वप्रथम अर्जेन्टिनाको आरोहण दलले सन् १९४५ मा सुरूआत गरेको थियो। उक्त टोलीका एक जना सदस्यको आरोहण क्रममा मृत्यु भयो। आरोहण दल धौलागिरि चुचुरा नटेकी फर्किएको थियो। निरन्तर पाँच वटा टोली आरोहणमा असफल भएपछि सन् १९६० मे १३ मा स्विट्जरल्यान्डको आरोहण दलले पहिलो पटक धौलागिरि चुचुरा टेक्यो। सन् १९५० मा मोरिस हर्जोगको धौलागिरि चढ्ने प्रयास असफल भएपछि उनी अन्नपूर्णतिर लागेका थिए।

त्यसको १० वर्षपछि सन् १९६० मा आएर मात्र स्वीस तथा अष्ट्रियन टिमका कुर्त डाइमवर्गर, पिटर डाइनर, अर्नष्ट फोरेर, अल्विन शेल्वर्ट, नीमा दोर्जे र ङावाङ दोर्जेले धौलागिरिको सफल आरोहण गरे। २००९ सम्मको ४९ वर्षमा चार सय १३ जना आरोही मात्र धौलागिरिको शिखरमा पुग्न सफल भएका थिए। त्यस यताको गरी आरोहणको ६६ वर्षमा करिब ७ सय जना भन्दा बढीले धौलागिरि चुचुरो टेकिसकेका छन्। आरोहण क्रममा ९० जना भन्दा बढीले ज्यान गुमाइसकेको छन् ।
हिमाल आरोहणको तथ्याङ्क भएपनि पदमार्गमा जाने पर्यटकको तथ्याङ्क राख्ने निकाय समेत अहिलेसम्म छैन् । धौलागिरी हिमालको तथ्यका बारेमा जिल्लाबासी समेत बेखवर छन् ।








