जिल्ला प्रशासन कार्यालय म्याग्दीले इजाजत पत्र लिएका हातहतियारको नवीकरण गर्न निर्देशन जारी गरेको छ । आसन्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी बुधबार सूचना जारी गर्दै कार्यालयले हतियारसहित स्वयम् उपस्थित भएर नवीकरण गर्न निर्देशन दिएको सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यले बताउनुभयो ।
जिल्ला प्रशासनबाट हातहतियार राख्न इजाजत पत्र लिएका व्यक्तिको हातहतियारको अभिलेख अद्यावधिक गर्ने प्रयोजनका साथ नवीकरणका लागि सूचना जारी गरिएको सहायक प्रजिअ आचार्यको भनाई छ ।

यसैबीच म्याग्दीमा सुरक्षा निकायबाट लुटिएका वा हराएका हातहतियार, अवैध हतियार भएको सूचना पाएमा नजिकैको प्रहरी कार्यालयमा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ । म्याग्दीमा इजाजतपत्र भएपनि कतिपय व्यक्तिले नवीकरण नगराएको पाइएकाले दुरुपयोग हुन सक्ने अनुमान गरिएको छ ।
म्याग्दीमा अवैध हातहतियार बन्यजन्तुको शिकारमा प्रयोग हुने गरेको गुनासो आउन थालेपछि जिल्ला प्रहरी कार्यालयले समेत अवैध हातहतियार खोज्ने अभियान नै सञ्चालन गरेको छ।








