म्याग्दी र राहुघाट वेसिनका जलविद्युत् आयोजनाबाट उत्पादन हुुने विद्युतलाई केन्द्रीय प्रणालीमा आबद्ध गराउन सञ्चालन भएको डाँडाखेत–राहुघाट प्रसारण लाइन आयोजनाको ठेक्का सम्झौताको म्याद सकिन पाँच महिना बाँकी रहँदा ७० प्रतिशत भौतिक प्रगति भएको छ ।
सत्तरी प्रतिशत काम गर्न पाँच वर्ष लगाएको नेपाल विद्युत् प्राधिकरणद्वारा सञ्चालित आयोजनाको ठेकेदारलाई बाँकी ३० प्रतिशत काम पाँच महिनामा पूरा गर्न चुनौती छ । मालिका गाउँपालिका–७, डाँडाखेतदेखि रघुगङ्गा गाउँपालिका–३, राहुघाटको अम्वाङ जोड्ने २५ किलोमिटर १३२ केभी क्षमताको प्रसारण लाइन र दुवै ठाँउमा सवस्टेसन निर्माणका लागि सन २०२१ को डिसेम्बर ३१ मा तीन अर्ब ५७ करोडमा लार्सन एन्ड टुयुब्रो लिमिटेडसँग ठेक्का सम्झौता भएको थियो ।
पहिलो पटकको म्याद गत जुलाई १६ र दोस्रो पटकको म्याद नोभेम्बर १६ सम्ममा सकिएपछि २०२६ मे १६ सम्मका लागि तेस्रो पटक म्याद थपिएको आयोजनाले जनाएको छ । प्रसारण लाइनको क्षेत्राधिकारमा पर्ने वन क्षेत्रमा रुख कटान आदेश प्राप्त नहुुनु, राहुघाट सवस्टेसन निर्माण स्थलको कमजोर भूगोल, विपद्को जोखिम र केही टावर निर्माण स्थलमा समुदायको विवादका कारणले निर्माण अवधी लम्बिएको आयोजना प्रमुख रोशन अग्रवालले बताउनु भयो ।
एक सय ३२ केभी क्षमताको डबल सर्किट प्रसारण लाइनको हालसम्म ७३ वटा टावरको जग राखिएकोमा ६० वटा टावर खडा भएका छन् । रुख काट्नुपर्ने पाँच वटा बाहेक सबै टावरमा ठेकेदारले काम थालेको छ । तीन किलोमिटरमा तार तान्ने काम पनि सकिएको छ । प्रसारण लाइन र सब स्टेसनको उपकरण आयात भइसकेको छ ।
डाँडाखेतको सब स्टेसनमा ९० प्रतिशत, प्रसारण लाइनमा ६५ प्रतिशत र राहुघाट सब स्टेसनमा ६० प्रतिशत प्रगति भएको छ । एलएनटिका आयोजना व्यवस्थापक सुभाषचन्द्र शर्माले मजदुर र उपकरण थप गरेर मे १६ को म्यादभित्र सम्पन्न गराउने प्रतिबद्धता जनाउनु भयो ।
एकाउन्न रोपनी क्षेत्रफलमा निर्माण भएको डाँडाखेत सब स्टेसनमा १३३/३३ केभी, ३० एमभिए क्षमता र एआइएस प्रविधिको उपकरण जडान भइरहेको छ । २२०/१३२/३३ केभी, २०० एमभिए क्षमताको उपकरण जडान हुने जिआइएस प्रविधिको राहुघाट सब स्टेसनमा उपकरण राख्ने र कार्यालयको भवन बनाउन जग्गाको फाउन्डेसन सकेर संरचना निर्माण थालिएको छ । अम्बाङमा सब स्टेसन बनाउन छ वर्षअघि ९० रोपनी जग्गा अधिग्रहण भएको थियो ।
कुल चार अर्ब ८८ करोड लागत अनुमान गरिएको आयोजना निर्माणका लागि एक अर्ब पाँच करोड विद्युत् प्राधिकरण र तीन अर्ब ८२ करोड एसियाली विकास बैँकको ऋण लगानी छ ।
प्रसारण लाइनको ‘राइट अफ वे’ र टावर रहने २५ दशमलब ६२ हेक्टर सामुदायिक र राष्ट्रिय वन क्षेत्रको जग्गा प्रयोग गर्नका लागि विस २०८० फागुन ६ गतेको मन्त्रिपरिषद्काे बैठकले स्विकृति प्रदान गरेको थियो । आयोजना निर्माण स्थलमा तीन हजार ९३६ वटा रुख छन् ।
पाँच सय चार रोपनी जग्गा खरिद गरी बिरुवा हुर्काउनका लागि पहिलो किस्ता बापतको रकमसमेत उपलब्ध गराएपनि डिभिजन वन कार्यालयले कटान आदेश दिन ढिलाइ गरेको आयोजना प्रमुख अग्रवालले बताउनु भयो ।
रघुगङ्गा गाउँपालिका–३, बेनी नगरपालिका–९, १०, मङ्गला गाउँपालिका–१, मालिकाको वडा नम्बर ६ र ७ मा प्रसारण लाइनको टावर निर्माण स्थल हुन् । टावर रहने निजी जग्गाधनीलाई एक करोड ५० लाख मुआब्जा वितरण र वन क्षेत्र प्रयोग गरेबापत चार करोड ५० लाखमा जग्गा खरिद गरेर सरकारलाई उपलब्ध गराएको आयोजनाका प्रशासकीय अधिकृत मातृका तिमिल्सिनाले बताउनु भयो ।
म्याग्दी नदीमा १७२.८ मेगावाट क्षमताको चार वटा जलविद्युत् आयोजना निर्माण सुरु भएका छन् । राहुघाटमा ३५.५ मेगावाटको चिमखोला–राहुघाट–मङ्गले, ४८ मेगावाटको अपर राहुघाट र २१।३ मेगावाट क्षमताको ठुलोखोला जलविद्युत् आयोजनाले उत्पादन थालेका छन् ।
चालिस मेगावाट क्षमताको राहुघाट र २३ दशमलव पाँच मेगावाट क्षमताको माथिल्लो ठुलोखोला जलविद्युत् आयोजना निर्माणको अन्तिम चरणमा छन् । तुदी पावरले बनाएको चिमखोला–राहुघाट–मङ्गले र संयुक्त ऊर्जाको ठुलोखोला जलविद्युत् आयोजनाले अस्थायी टावर बनाएर २२० केभी क्षमताको कालीगण्डकी प्रसारण लाइनमा विद्युत् आपुर्ति गराउन थालेका हुन् । रासस









