बेनी सामुदायिक माध्यमिक विद्यालयले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति तथा शैक्षिक सहयोग प्रदान गर्न जन्मदिन कोष स्थापना गरेको छ । विद्यालयमा अध्ययनरत विद्यार्थीलाई शैक्षिक गतिविधिमा प्रोत्साहन गर्ने गरी शिक्षक, कर्मचारी तथा अभिभावक र शुभचिन्तकको जन्मदिनको अवसरमा प्राप्त सहयोगलाई कोषमा राखिने छ ।
बुधबार कोषको शुभारम्भ गदैं विद्यालयका प्रअ भिमबहादुर घर्तीले आफ्नो जन्मदिनमा महंगो खर्च गरेर मनाउने संस्कारको अन्त्य गरी विद्यार्थीको शैक्षिक गतिविधिमा सहयोग गर्ने गरी कोष स्थापना गरिएको बताउनुभयो । धर्तीमा पाइला टेकेको दिनलाई भोजभतेर गरेर फजुल खर्च गर्दै उत्सवको रुपमा मनाउनेहरूको बीचमा विद्यालयले स्थापना गरेको कोषबाट विपन्न विद्यार्थीका हरेक समस्या समाधान गरिने प्रअ घर्तीको भनाई छ ।
सोही अवसरमा बिहिबार विद्यालयकी निमावि तह अङ्ग्रेजी विषय शिक्षक चित्रा थापाले पाँच हजार पाँच सय पचपन्न रुपैया विद्यालयलाई सहयोग प्रदान गर्नुभएको थियो । कार्यक्रममा विद्यालयका सहायक प्रअद्धय काशिराम रेग्मी, शिवदत्त रेग्मी, बेनी नगरपालिका वडा नं ६ का वडा अध्यक्ष कृष्णसिङ बानियाँ लगायतको उपस्थिती रहेको थियो ।











