हाइड्रो इम्पायर प्रालिको साधारणसभा कम्पनीका अध्यक्ष काजी लामाको अध्यक्षतामा बिहीबार सम्पन्न भएको छ। सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र लेखापरीक्षण प्रतिवेदन सहित सम्पूर्ण वित्तीय विवरण पारित गरेको छ। साथै, आर्थिक वर्ष २०८२/०८३ का लागि लेखापरीक्षक नियुक्ति गर्दै निजको पारिश्रमिक तोकेको छ।
सभामा कम्पनीद्वारा प्रवद्र्धित माथिल्लो म्याग्दी जलविद्युत आयोजनाको प्रगति विवरण पनि छलफल गरिएको र पारित गरिएको छ। आयोजनाको निर्माणका क्रममा सम्पन्न भएका ठेक्का/सम्झौताहरू अनुमोदन गरिएको छ।
विशेष प्रस्तावमा कम्पनीलाई प्रालिबाट पब्लिक लिमिटेड कम्पनीमा परिणत गर्ने निर्णय पारित भएको छ। सभाले अधिकृत पूँजी, जारी पूँजी तथा चुक्ता पूँजी निर्धारण गरी प्रबन्धपत्र एवं नियमावली मस्यौदा गरी स्वीकृत गर्न संचालक समितिलाई अख्तियारी दिएको छ।
कम्पनीले म्याग्दीको धवलागिरि गाउँपालिकामा ४६.२५ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजना निर्माण गरिरहेको छ। यसअघि ३७ मेगावाट रहेको आयोजनाको क्षमता बढाएर ४६.२५ मेगावाट बनाइएको हो। आयोजनाको अनुमानित लागत रु ८ अर्ब ४६ करोड रहेको छ र यसले विसं २०८३ चैतसम्म विद्युत उत्पादन गर्ने लक्ष्य राखेको छ।










