नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनबाट म्याग्दीका तीनजना एमाले नेताहरु केन्द्रीय कमिटी सदस्यमा निर्वाचित हुनुभएको छ ।
भक्तपुरको सल्लाघारीमा उद्घाटनसत्र सकेर काठमाडौँको भृकुटीमण्डपमा बिहीबार बिहान सम्पन्न निर्वाचनको मतपरिणाम अनुसार म्याग्दीका तीनजना नेताहरु विजयी हुनुभएको हो । एमालेको केन्द्रीय कमिटीमा लोकप्रिय मतसहित विजयी हुनेहरुमा म्याग्दीबाट थममाया थापा, नरदेवी पुन र हरिकृष्ण श्रेष्ठ हुनुहुन्छ ।
महाधिवेशनको निर्वाचनमा थापाले १७४५, पुनले १८२४ र श्रेष्ठले १७७० मत पाउनुभएको छ । एमालेको ११औं राष्ट्रिय महाधिवेशनमा कुल २२ सय ६३ मतदाता रहेकोमा २२ सय २७ मत खसेको थियो । महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली र महासचिवमा शंकर पोखरेलसहितका नेताहरु निर्वाचित हुनुभयो । एमालेको केन्द्रीय सदस्यमा निर्वाचित म्याग्दीका नेताहरु महाधिवेशनमा थापा, पुन र श्रेष्ठ क्रमशः आदिवासी जनजाति महिला कलष्टर तथा गण्डकी प्रदेश भूगोलबाट खुलातर्फको उम्मेदवार बन्नुभएको थियो ।
नेकपा एमालेको केन्द्रीय कमिटीमा निर्वाचित म्याग्दीका तीनैजना नेताहरु जिल्लामा लामो समय पार्टीको नेतृत्व गर्नुभएको हो । विगत लामो समयदेखि म्याग्दीमा राजनीति गर्दै आउनुभएका नेतात्रय थापा, पुन र श्रेष्ठले एमालेको सङ्गठन विस्तार, पार्टीलाई सशक्त बनाएर प्रमुख शक्तिको रुपमा स्थापित गराउन लागिपर्नुभएको थियो ।
केन्द्रीय सदस्यमा निर्वाचित महिला नेतृ थापा यसअघि एमालेको स्थायी कमिटी सदस्य एवं पूर्व महिला, बालबालिका तथा ज्येष्ठनागरिक मन्त्री भैसक्नुभएको छ । यसैगरी अर्की नेतृ पुन एमालेको यसअघि केन्द्रीय सदस्य तथा म्याग्दीका पालिकाहरुको इन्चार्ज हुनुका साथै पूर्व पशुपंक्षी विकास राज्यमन्त्री तथा गण्डकी प्रदेशको सामाजिक विकास मन्त्री बनिसक्नुभएको छ ।
दुवैजना महिला नेतृहरु मन्त्री पदमा रहँदा विवादरहित ढङ्गले आ–आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो । केन्द्रीय सदस्यमा पहिलोपटक निर्वाचित श्रेष्ठ यसअघि एमाले गण्डकी प्रदेश कमिटीको सचिवालय सदस्य हुनुहुन्थ्यो । उहाँ एमाले म्याग्दीको दुई कार्यकाल अध्यक्ष भई लामो समय पार्टीको नेतृत्व गर्नुभयो ।
जिल्लाको विभिन्न सामाजिक संघसंस्थामा समेत नेतृत्व गरिसक्नुभएका श्रेष्ठ वि.सं. २०५४ सालमा सम्पन्न स्थानीय निकायको निर्वाचनमा तत्कालीन अर्थुङ्गे गाविसको अध्यक्षमा निर्वाचित भई जनपक्षीय कामहरु गर्नुभएको थियो । उहाँ २०७९ सालको प्रतिनिधि सभा सदस्य पदमा एमाले म्याग्दीबाट उम्मेदवार समेत बन्नुभएको थियो । तर केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुभएका नेता प्रकाश पौडेल भने एमालेको महाधिवेशनमा पराजित हुनुभयो ।
गण्डकी प्रदेशको युवा कलष्टबार उम्मेदवार बन्नुभएका पौडेलले ११ सय ३ मत ल्याउनुभएको छ । महाधिवेशनमा झिनो मतले पराजित पौडेलले चर्चित विद्यार्थी नेताको रुपमा आफूलाई स्थापित गराउनुभएको छ । उहाँ एमाले म्याग्दीबाट युवा कलष्टरमा सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि बन्नुभएको थियो ।
एमाले केन्द्रीय सदस्यमा नवनिर्वाचित नेतृ नरदेवी पुनले महाधिवेशनको निर्वाचन प्रक्रियामा सहभागी भई आफूलगायत सबै उम्मेदवारलाई अमूल्य मत दिने सम्पूर्ण प्रतिनिधिहरुलाई धन्यवाद दिनुभयो । उहाँले आउँदा दिनमा पनि समग्र जिल्लाको विकास निर्माणसँगै जनजीविकाको पक्षमा निरन्तर आवाज उठाउने प्रतिबद्धता जनाउनुभयो ।











