---Advertisement---

५ महिनामा साढे दुई लाख बढी पर्यटक मुस्ताङ पुगे

On: December 19, 2025 6:56 AM
Follow Us:

कठ्याङ्ग्रिँदो चिसोसँगै मुस्ताङको माथिल्लो क्षेत्रका बस्तीहरू सुनसान बन्दै जान थालेको बेला बेनी–जोमसोम–कोरला सडकबाट सवारीासधनमा मंसीर महिनामा मात्रै ४९ हजार ५० जना पर्यटक भित्रिए ।

मंसीर महिनाको अवधिभर विदेशी पर्यटक ६ हजार ६ सय ७९ जना, स्वदेशी पर्यटक ४२ हजार ३ सय ७१ जना गरी कुल ४९ हजार ५० जनाले मुस्ताङको भ्रमण गरेकोमा उपल्लो मुस्ताङको लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा १ सय ४९ जना, विश्वप्रसिद्ध अन्नपूर्ण पदमार्गको थोरङला पास हुदै मुक्तिनाथ हुदै आउने विदेशी पर्यटकको संख्या १५ सय ७५ जना रहेको छ । कठ्याङ्ग्रिँदो जाडोमा पनि मुस्ताङमा प्रवेश गर्ने र बाहिरिने पर्यटकको चहलपहल छ ।

चालु आर्थिक बर्ष २०८२÷०८३ सालको साउनदेखि मंसीर महिनासम्मको अवधिमा २ लाख ५१ हजार ४ सय १ जना स्वदेशी तथा विदेशी पर्यटकले मुस्ताङको भ्रमण गरेका छन् ।


जिल्ला प्रहरी कार्यालयका अनुसार साउन महिनामा विदेशी पर्यटक ७ हजार ९ सय ५० जना,भदौ ९ हजार ६ सय ५५ जना, असोज ९ हजार ८ सय ५९ जना, कात्तिक १३ हजार ९ सय ६६ जना रहेका छन् । त्यसैगरी स्वदेशी पर्यटकतर्फ साउन ११ हजार ८ सय ३१ जना, भदौ १३ हजार ५ सय ५० जना, असोज ६५ हजार ७ सय ४० जना, कात्तिक ६९ हजार ८ सय जना रहेका छन् ।

जाडोयाममा अधिकांस धार्मिक तथा पर्यटक तल्लो मुस्ताङका तीन स्थानीय तहमा रहेका धार्मिक तथा पर्यटकीयस्थलको भ्रमणमा देखिन्छन् । पर्यटकको सिजनका तुलनामा संख्या पातलो भएपनि जाडोको प्रवाह नगरी बालबालिकादेखि बृद्धबृद्धासम्म मुस्ताङमा प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालले बताउनुभयो ।


प्रहरी निरीक्षक बस्यालले भन्नुभयो,‘‘मुस्ताङ प्रवेश गर्ने अधिकांस पर्यटक नै हुन्छन्, यो बेलामा छोटो समय विताउने गरेको पाइन्छ ।’’ जाडोयाममा दिर्घरोगी तथा बालबालिकालाई समस्या हुने भएकाले प्रहरी चौकी घाँसामा पर्यटकलाई माथिल्लो क्षेत्रको अवस्थाका बारेमा जानकारी गराउने गरिएको प्रहरी निरीक्षक बस्यालको भनाई छ ।

जाडोयाममा विदेशी र स्वदेशी पर्यटकको चहलपहल उपल्लो मुस्ताङको लोघेकरदामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा न्युन रहेकोे अन्नपूर्ण संरक्षण क्षेत्र इलाका कार्यालय लोमान्थाङले जनाएको छ । एक्याप लोमान्थाङका प्रमुख उमेश पौडेलका अनुसार बिहान र बेलुकीको समय उपल्लो मुस्ताङको तापक्रम माइनस डिग्री सेल्सियसमा झर्ने गरेको छ । मुस्ताङ उद्योग वाणिज्य संघका अध्यक्ष राजु लालचनले जाडोयाममा आउने पर्यटकको बसाई अवधि छोटो हुने बताउनुभयो।


अध्यक्ष लालचनले भन्नुभयो,‘‘अघिल्लो महिना सामुहिक भ्रमण टोलीको संख्या धेरै थियो, फाटफुट पर्यटक ओहोदोहोर निरन्तर हुन्छ ।’’जाडोयाममा भित्रिएका करिब ९५ प्रतिशतभन्दा बढी स्वदेशी तथा भारतीय प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरमा पुग्ने गरेको अध्यक्ष लालचनको भनाई छ ।

प्राचिन गुफा, बस्तीभन्दा टाढा रहेका मानवनिर्मित गुफा, गुम्बा, उजाड पहाड, मुस्ताङीको कला र संस्कृति, हावापानी र आर्कषक पर्यटकीय गन्तब्य मुस्ताङका प्रमुख आकर्षण हुन्। पछिल्लो समय बेनी–जोमसोम–कोरला सडक कालोपत्रे भएपछि दुई पाङ्ग्रे सवारीसाधनमा जाने पर्यटकको संख्या ह्वात्तै बढेको छ ।

Leave a Comment