म्याग्दीको बेनी नगरपालिका–१०, पात्लेखेतकी माया सुवेदी आजभोलि बारीमा फलाएको आलु खन्नमा व्यस्त हुनुहुन्छ । गत असोज महिनाको पहिलो साता करिब चार रोपनी क्षेत्रफलमा फैलिएको बारीमा रोपेर फलाएको निलो बेमौसमी जातको आलु खनेर घरमा भण्डारण गर्न नपाउँदै उहाँको बारीबाटै बिक्री भइरहेका छन् ।
गत वर्ष डढेलो कारण करिब २० क्विन्टल आलु फलाउनुभएकी मायाले यस वर्ष भने राम्रो भएकाले बढेर करिब ३० क्विन्टल उत्पादन हुने अपेक्षा गरिएको बताउनुभयो । मायाले एक सिजनमा आलु बिक्रीबाट डेढ लाख रुपियाँ र अन्य तरकारी खेतीबाट ५० हजार गरी वार्षिक करिब दुई लाख रुपियाँ आम्दानी गर्ने गरिएको सुनाउनुभयो ।
एउटै बोटमा एक केजी बढी आलु उत्पादन हुने उहाँले बताउनुभयो । उहाँ लगायत पात्लेखेत गाउँका २४ जना किसान मिलेर समूह नै गठन गरेर विगत ६ वर्षदेखि बेमौसी एमएस –४२ निलो जातको व्यावसायिक आलु खेती गर्दै आइरहेका छन् ।
करिब १५ वर्षदेखि बेमौसमी जातका आलु उत्पादन हुँदैआएको पात्लेखेतमा ६ वर्षअघि पर्वतीय आलु तथा ताजा तरकारी उत्पादक कृषक समूह गठन गरेर व्यावसायिक आलु खेती गर्दै आइरहेको छ । समूहमा आवद्ध नभएका गाउँका अन्य किसान समेत व्यावसायिक आलु खेतीबाट राम्रो आम्दानी गर्दै आइरहेको कृषक समूह अध्यक्ष गोकुल शर्माले बताउनुभयो ।
यस वर्ष बर्षा ढिलो हुँदा असोज पहिलो साता रोपेको बेमौसमी आलुलाई किसानले मङ्सिर अन्तिम सातादेखि खन्न थालेका छन् । खानमा निकै स्वादिलो र अरू आलुको तुलनामा उत्पादन तेब्बर बढी हुने गरेको किसानको भनाइ छ । परम्परागत कोदो मकै बाली लगाउने बारीमा व्यावसायिक बेमौसमी आलु उत्पादन हुन थालेपछि पात्लेखेतबासीको आर्थिक उपार्जनमा समेत ठुलो टेवा पुगेको छ ।
सिँचाइ अभावले कृषकलाई आलु खेतीमा समस्या हुने गरेको छ । बारीमा ३० क्विन्टल आलु उत्पादन गर्दै आउनुभएका कृषक समूह अध्यक्ष शर्माले सिजनमा डेढ लाख रुपियाँ आम्दानी हुने बताउनुभयो । गाउँको आलु बेनी बजारमा पुर्याउँदा प्रतिकेजी ७० रुपियाँका दरले बारीबाट प्रतिपाथी दुईसय रुपियाँका दरले बिक्री हुँदैआएको छ । आलु बिक्रीका लागि बजारको समस्या नरहेको अध्यक्ष शर्माले बताउनुभयो ।
यहाँका किसानले एक सिजनमा ३० देखि ४० क्विन्टलसम्म आलु उत्पादन गर्दै आइरहेका छन् । करिब ९० रोपनी क्षेत्रफलमा बेमौसमी व्यावसायिक आलु खेती हुँदै आएको यस गाउँबाट गत वर्ष एक हजार पाँचसय क्विन्टल आलु उत्पादन भएकोमा यस वर्ष बढेर दुई हजार क्विन्टल बढी उत्पादन हुने अपेक्षा गरिएको छ । नगरपालिकाले सुरुवाती दुई वर्षसम्म आलु पकेट क्षेत्र घोषणा गरेर अनुदान र प्रविधिमा सहयोग गरेको थियो । कृषि ज्ञान केन्द्र म्याग्दीले मागका आधारमा प्रोत्साहन कार्यक्रम सञ्चालन गरेको अध्यक्ष शर्माको भनाइ छ











