म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा नेपाली नयाँ बर्ष २०८३ सालको उपलक्ष्यमा दोस्रो म्याग्दी मोना इताबाशी नेपाल फेस्टिबल हुने भएको छ । म्याग्दीका धार्मिक तथा पर्यटकीयस्थल, उत्पादनसँगै नेपाललाई जापानमा चिनाउने अभियान अन्तरगत आगामी अंग्रेजीबर्ष अप्रिल ११ र १२ तारिखमा अकात्सुका पार्कमा आयोजना हुने फेस्टबलको तयारी सुरु भएको छ ।
नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं गन्तब्यहरुको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने र जन्मभूमी म्याग्दी सहित सम्रग नेपालको पर्यटन क्षेत्रमा टेवा पु¥याउने उद्देश्यले आयोजित मोना फेस्टिवलको आर्थिक सहयोग तथा प्रचारप्रसार सहित अन्य आवश्यक तयारी तिब्र पारिएको मोना जापानका अध्यक्ष गणेशप्रसाद श्रेष्ठले बताउनुभयो । ‘पहिलो महोत्सव सफल भएको छ, यसपटक झनै भब्य गर्ने तयारीमा छौ, सबैको साथ र सहयोगको आवश्यकता छ‘ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।
मोना फेस्टिबलको पोष्टर सहितको मिति घोषणा गरिएपनि थप कार्ययोजना सहितका कार्यहरुको तयारीमा जुटेको बरिष्ठ उपाध्यक्ष टिका छन्त्यालको भनाई छ । फेस्टिबल सम्पन्न गर्न बिभिन्न उपसमिति सहित स्टल र अन्य तयारीमा मोना जुटेको छ । फेस्टिबलमा म्याग्देली कलाकारका साथै जापानमा रहेका नेपाली कलाकार र जापानी कलाकारहरुको विशेष मौलिक सांस्कृतिक प्रस्तुती रहने छ ।
फेस्टिबलमा जापानमा रहेका बिभिन्न जातीय, क्षेत्रीय एबम भेगीय सस्थाहरुका साथै मोना अन्तराष्ट्रिय, विश्वभर रहेका मोनाका राष्ट्रिय कार्यकारी समिति, म्याग्दीका विभिन्न संघसंस्थाहरुसँग समेत सहकार्य गरिने छ । मोना फेस्टिबलले जापानीमा सकारात्मक सन्देश प्रवाह गर्न सकेमा म्याग्दीका पर्यटकीयस्थलमा समेत भ्रमण बढाउन सहज हुने भएकाले मोना आइइसीले सक्रियतापूर्वक सहकार्य गर्ने मोना आईसिसि अध्यक्ष ददिवल खड्काले बताउनुभयो ।















