म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको आयोजनामा हुने दोस्रो म्याग्दी मोना इताबाशी नेपाल फेस्टिबललाई आर्थिक, भौतिक र नैतिक सहयोग गर्ने जापानमा रहेका गण्डकी प्रदेशका संघसंस्थाले प्रतिबद्धता जनाएका छन् । आउदो अंग्रेजी वर्ष २०२६ को अप्रिल ११ र १२ मा फेस्टिवललाई एकता, पारस्परिक एक्यबद्दता र एकिकृत गण्डकीको साझा बनाउन आयोजित अन्तरक्रिया कार्यक्रममा मोनाको पहिलोजस्तै दोस्रोलाई पनि भब्य रुपमा सफल निरन्तर साथ दिने बताइएको थियो ।

कार्यक्रममा जापानमा स्थित गण्डकी प्रदेशका क्रियाशिल संस्थाहरु बालुङ्ग समाज जापान,बलेवा समाज जापान, पर्वत समाज जापान,कास्की पोखरा समाज जापान, स्याङ्गजा समाज जापान,पुन क्लब जापान, धौलागिरी भजन समूह जापान लगायत एनआरएनए जापान, नेपाल पत्रकार महासंघ जापान र राष्ट्रिय लोकदोहोरी महासंघ जापानका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । अन्तरक्रिया कार्यक्रममा फेस्टिवलका संयोजक ज्ञानेन्द्र कार्कीले फेस्टिवलको हालसम्मको तयारीका बारेमा जानकारी गराउनुभएको थियो ।

सोही अवसरमा फेस्टिवलका आर्थिक संयोजक सागर कार्कीले कार्यक्रम सम्पन्न गर्नको लागि आवश्यक आर्थिक स्रोत जुटाउने योजना सुनाउनुभएको थियो । उक्त कार्यक्रममा मोना जापानका सल्लाहकार तिलक मल्लले मोना जापानको स्थापना, पहिलो म्याग्दी मोना इतवाशी नेपाल फेस्टिवल सम्पन्न गर्दा भोग्नु परेका चुनौती र चुनौतिहरुबाट सिक्दै दोस्रो म्याग्दी मोना इतावाशी नेपाल फेस्टिवल संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपाली कला, सँस्कृति एवं पर्यटनका साथै म्याग्दी जिल्लाका धार्मिक, ऐतिहासिक, सामाजिक, साँस्कृतिक एवं गन्तब्यहरुको बारेमा जापानी समुदायकाबीच प्रवर्धन गर्ने गरी तयारीमा सबै नेपाली संघसंंस्थाको सहयोग पहिलो प्राथमिकतामा राखिएको मोना जापानका अध्यक्ष गणेश श्रेष्ठले बताउनुभयो । मोना जापानका अध्यक्ष श्रेष्ठको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष टिका छन्त्यालको स्वागत र महासचिव सुरेश पुनको संचालनमा सम्पन्न भएको थियो ।















