म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको स्वर्गाश्रममा आइतबार विबिध कार्यक्रम गरेर विश्व ध्यान दिवस मनाइएको छ ।
बेनी नगरपालिका वडा नं. ३ को कार्यालयको सहयोगमा नविन आनन्द योग केन्द्र नेपाल र स्वर्गाश्रम क्षेत्र विकास समितिको आयोजनामा समुन्द्रि सतहदेखि दुई हजार पाँच सय मिटर उचाईमा रहेको स्वर्गाश्रममा ध्यान दिवस मनाइएको हो ।

दिवसको अवसरमा योग, ध्यानको नमुना प्रर्दशन, प्रवचन र नृत्य प्रस्तुत गरिएको थियो । दिवस मनाउनका लागि बेनी, गलेश्वर, तातोपानी, बाबियाचौर र दरवाङका योगी तथा स्थानीयबासीहरु स्वर्गाश्रममा भेला भएका थिए । कार्यक्रमका प्रमुख अतिथि बद्रीनाथ स्वामीले ध्यानको सुरुवात नेपालमा भएको र अहिले यसले विश्वब्यापी रुप लिएको बताउनुभयो ।

वातावरण, तन र मनलाई सन्तुलन बनाएर योग गर्नका लागि हिमालय पर्वत उपयुक्त थलो भएकाले पौराणीक कालमा देवी देवताहरुले ध्यान बस्न पहाडी क्षेत्रमा आएका बताउनुभयो । योग र ध्यान आधुनिक विश्वमा मानव जिवनका लागि आधारभूत आवश्यकता जस्तै बनेको बद्रीनाथ स्वामीले बताउनुभयो ।

अर्का स्वामी त्रीशक्तिनाथले स्वस्थ्य खानपान र सही संगतले मात्रै मानिस स्वस्थ्य रहन सक्ने बताउनुभयो । गलत आहार, ब्यवहार र संगतले मानव स्वास्थ्यमा असर परेको उहाँको भनाई थियो । योगी जमुना आचार्यले योग गर्न थालेपछि तनावबाट मुक्त र शरिरको अनावश्यक तौल घटेको अनुभव सुनाउनुभयो ।

नविन आनन्द योग केन्द्र नेपालका हरिप्रसाद पौडेलले परापुर्वकालमा ऋषिमुनीहरुले तपस्या गरेर ज्ञान आर्जन गरेको स्वर्गाश्रमलाई आधुनिक समाजमा ध्यान केन्द्रको रुपमा विकास गर्न सकिने बताउनुभयो ।
अर्का योगी बलराम शर्माले योग र ध्यानको विषयमा रचना प्रस्तुत गर्नुभयो । योग प्रशिक्षक नविन जुग्जालीले योगअभ्यास गराउनुभएको थियो । धौलागिरि, अन्नपूर्ण हिमशृङखलाको सम्मुखमा रहेको स्वर्गाश्रम धार्मिक र पर्यटकीय हिसाबले सम्भावनायुक्त रहेको योगी कमलकुमारी पुनले बताउनुभयो ।

आधारभूत पूर्वाधार तयार भएको स्वर्गाश्रमलाई ध्यान केन्द्रको रुपमा विकास गर्नका लागि प्रर्वद्धनका लागि ध्यान दिवस आयोजना गरिएको बेनपा –३ का वडा अध्यक्ष पदम पुनले बताउनुभयो । दुई सय वर्ष पुरानो इतिहास बोकेको स्वर्गाश्रम ऋषिमुनीले तपस्या गरी ज्ञान आर्जन गरेको ठाउँका रुपमा परिचित छ ।
सडक यातायात, विद्युत, खानेपानी सुविधा पुगेको स्वर्गाश्रममा योगी र भक्तजनको लागि आश्रयस्थल भवन, घेराबार, भान्छाकोठा निर्माण भएको स्वर्गाश्रम क्षेत्र विकास समितिका अध्यक्ष समेत रहेका वडा सदस्य रत्नबहादुर जिसीले बताउनुभयो । आश्रममा १२ वर्षसम्म तपस्या गरी बस्नुभएकी इन्दिरा माताको नेतृत्व र स्थानीयको पहलमा केही वर्ष अगाडि सञ्चालित महायज्ञबाट दान सङ्कलन भएको थियो ।
सो दान र बेनी नगरपालिकाको सहयोगमा गणेश मन्दिर, पानी जम्मा गर्ने कुवा, आश्रम घर र तीर्थालु बस्ने सत्तल निर्माण भएको छ । स्वर्गाश्रमको दर्शन गरेमा अन्य पाँच पवित्र तीर्थस्थलको दर्शन र मनोकामना पूरा हुने जनविश्वाससमेत छ ।स्वर्गाश्रमबाट मनोरम हिमशृङ्खला र बेनी बजारसहित, दर्जनौँ गाउँबस्तीको दृश्यावलोकन गर्न सकिन्छ ।
यहाँ हरेक वर्षको वैशाख १ गते रथयात्रा गरिन्छ । स्वर्गाश्रमदेखि करीब ४० मिनेट पैदल दूरीमा रहेको बेलढुङ्गा र स्वर्गाश्रमलाई एकीकृतरुपमा धार्मिक तथा पर्यटकीयस्थलका रुपमा विकास गर्न स्थानीयबासीले अग्रसरता देखाएका छन् ।भकिम्लीको मुसुङ र बागलुङको काठेखोला गाउँपालिकाको ओखलेको सिमानामा प्राकृतिक भ्युटावरका रुपमा रहेको बेलढुङ्गालाई नयाँ गन्तब्य स्थलको रुपमा विकास गर्न पहल भएको छ ।










