---Advertisement---

बाँचाइ कि निभाइ: मौनले ढाकेको यथार्थ

On: December 22, 2025 3:47 PM
Follow Us:

हामीले कहिले अन्तिमपटक साँचो भएर बाँच्यौं?

हामी धेरै वर्षदेखि बाँचिरहेका छौं, तर साँचो भएर कहिले बाँच्यौं भन्ने प्रश्नको उत्तर हामीसँग छैन। हामी बिहान उठ्छौं, जिम्मेवारी लगाउँछौं, भूमिका ओढ्छौं, अनि दिनभरि आफू होइन, आफू बन्नुपर्ने मान्छे भएर हिँड्छौं। छोरी, छोरा, विद्यार्थी, कर्मचारी, साथी, “समझदार मान्छे” यी सबै नामले हामीलाई चिनाउँछ, तर ती सबैको बीचमा हामी आफैं हराइरहेका छौं। हामीलाई सोधिँदैन तिमी ठीक छौ कि छैनौ? हामीलाई सोधिन्छ तिमीले के गर्यौ? कति कमायौ? 

हामीलाई सानैदेखि सिकाइयो रोइनु कमजोरी हो, धेरै सोच्नु समय खेर फाल्नु हो, मनको कुरा भन्नु जोखिम हो। त्यसपछि हामीले आफूलाई सम्हाल्न होइन, दबाउन सिक्यौं। मन दुख्दा चुप बस्न सिक्यौं। अन्याय हुँदा सहन सिक्यौं। थाक्दा पनि अघि बढ्न सिक्यौं। बिस्तारै, यही “सिकाइ” हाम्रो स्वभाव बन्यो। र एक दिन, हामीले महसुस गर्‍यौं हामी अब दुखी पनि खुला रूपमा हुन सक्दैनौं।

सबैभन्दा डर लाग्दो कुरा के हो भने हामीलाई अब यो अवस्था सामान्य लाग्न थालेको छ। बिहान उठ्दा मन भारी हुनु, राति सुत्दा आँखा खुला हुनु, भीडमा पनि एक्लो महसुस हुनु यी सबै हामीले जीवनको हिस्सा मानेका छौं। हामी आफैंलाई सम्झाउँछौं सबैको जीवन यस्तै हुन्छ। तर के साँच्चै यस्तै हुनै पर्छ? कि हामीले धेरै समयदेखि गलत कुरा स्वीकार गर्दै आएका छौं?

हामीलाई थाहा छ, हामी भित्र कतै केही चिच्याइरहेको छ। त्यो आवाज भन्छ म यस्तो जीवनका लागि बनेको थिइनँ। तर हामी त्यो आवाजलाई काम, व्यस्तता, स्क्रोल, हाँसो, र मौनताले दबाइरहेका छौं। किनकि त्यो आवाज सुन्नु भनेको सबै कुरा पुनः प्रश्न गर्नु हो। र प्रश्न गर्नु भनेको डराउनु हो, सबै भत्किन्छ कि भन्ने डर।

तर भित्र भित्रै थाहा छ पहिल्यै धेरै भत्किसकेको छ। हामी थाकेका छौं, तर आरामले होइन। हामी अघि बढिरहेका छौं, तर उद्देश्यबिना। हामी मुस्कुराइरहेका छौं, तर खुसी बिना। र यही अवस्था सबैभन्दा खतरनाक हो जहाँ मान्छे बाँचिरहेको देखिन्छ, तर भित्रै मरेको हुन्छ।

यो लेख समाधान होइन। यो आरोप पनि होइन। यो एउटा इमानदार क्षण हो जहाँ हामी आफैंसँग आँखा जुधाएर सोध्न सक्छौं म किन यति टाढा पुगेँ आफ्नै मनदेखि? र यदि त्यो प्रश्नले मन दुखायो भने, त्यसको अर्थ अझै ढिलो भएको छैन। किनकि जबसम्म दुख्छ, तबसम्म हामी पूर्ण रूपमा हराएका हुँदैनौं।

सायद, साँचो भएर बाँच्नु भनेको सबै कुरा छोड्नु होइन। सायद, त्यो भनेको आफूलाई फेरि सुन्न सुरु गर्नु हो। ढिलो, डराउँदै, तर इमानदारीसाथ।

✍🏻

 अस्मिता

Leave a Comment