म्याग्दीको बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडकमा कालोपत्रे गरिएको केही महिनामै कालोपत्रे उप्किँदा उक्त सडकमा खाल्डाखुल्डी बनेको छ । सडकखण्डमा यात्रु तथा मालबाहक सामान बोकेर साना सवारीसाधन, ट्याक्टर गुड्ने भएपनि निर्माण ब्यवसायीको कमसल कामका कारण खाल्डाखुल्डी भएपछि स्थानीय आक्रोसित भएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङ मार्फत ‘एक निर्वाचन क्षेत्र, एक सडक’ आयोजना अन्तर्गत सञ्चालित बेनी नगरपालिका– १ रत्नेचौर देखि वडा नं.–२ भकुण्डे जोड्ने सडकको उपल्लाचौर–अर्जम–बिमिराबोट खण्डको सडकमा हालै डिबिएसडी प्रविधिको कालोपत्र भएको थियो । सडकखण्डमा गरिएको कालोपत्रेको कमसल काम भएकोमा खाल्डै खाल्डा बनेको बेनी नगरपालिका वडा न १ का वडा सदस्य तारा प्रसाद थापाले बताउनुभयो ।

सडकखण्डका बारेमा सडक डिभिजन कार्यालय बागलुङका प्रमुख हरि सुवेदीलाई समेत जानकारी गराइएको वडा सदस्य थापाको भनाई छ । गुणस्तर र मापदण्ड अनुसारको काम नभएको अवस्थामा निर्माण ब्यवसायीबाट पुनः काम गर्ने प्रतिबद्धता कार्यालय प्रमुख सुबेदीले गरेको वडा सदस्य थापाको भनाई छ । बिमिराबोट–भकुण्डे–तमाने खण्डको सडकमा कालोपत्रका लागि संरचना तयार पारेर बेस र सबबेस राख्ने तयारी भएको छ ।

वडा नं २ का अध्यक्ष यामबहादुर कार्कीले सडक निर्माणमा भएको लापरबाहीका बारेमा अनुगमन समितिले लिखित पत्र पठाउँदा समेत बेवास्ता भएको बताउनुभयो । ‘बिग्रिएको सडक मर्मतका लागि चौतर्फी दवाव दिएका छौ, स्थानीय समुदायको गुनासो सम्बोधान हुनुपर्छ ।’ सात किलोमिटर सडक विस्तार, नाली, टेवा पर्खाल निर्माण, घुम्ती तथा ग्रेड सुधार गरेर कालोपत्रका लागि सञ्चालित योजनाको आधा भन्दा बढी भाग दोस्रो चरणको पनि कालोपत्र भइसकेको छ । नौ मिटर फराकिलो बनाइएको सडकमा सात मिटर चौडाईका दरले डिबिएसडी प्रविधिको कालोपत्र र ढलान गर्ने सम्झौता छ ।

उक्त योजना निर्माण गर्न वि.स. २०७९ भदौ ६ गते गजेन्द्र–नयाँबाटो जेभीले २३ करोड ३२ लाखमा ठेक्का सम्झौता गरेको थियो । ३० महिनाको ठेक्का अवधी भएको योजनाको म्याद २०८२ फागुन महिनासम्म थप भएको छ । विसं ०५६ मा ट्याक खोलिएको यो सडकका लागि पूर्व प्रतिनिधिसभा सदस्य भुपेन्द्रबहादुर थापाको पहलमा कालोपत्रे सहितको बजेट विनियोजन भएको थियो । बेनी नगरपालिका–१, २, ३ र बागलुङ नगरपालिकाको मालिकाका बासिन्दाले प्रयोग गर्छन्।











