राष्ट्रिय स्वतन्त्र पार्टी म्याग्दीले आगामी प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको उम्मेदवारीका लागि उम्मेदवारी आह्वान गरेको छ। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको प्रत्यक्षतर्फको उम्मेदवारका लागि आवेदन खुला गरेको हो । रास्वपाका जिल्ला सभापति यूवराज रोकाले उम्मेदवार छनोटका लागि योग्यता पुगेका इच्छुक सदस्यहरूलाई आवेदन खुला गरिएको बताउनुभयो ।

‘हामीले जिल्लाबाट राम्रो उम्मेदवारको खोजी गरेका छौ,इच्छुक हुनुहुन्छ भनेर आवेदन दिन सकिन्छ’ सभापति रोकाले बेनीअनलाइनलाई भन्नुभयो। म्याग्दी जिल्लालाई नेतृत्व गर्न सक्ने सक्षम उम्मेदवार भएमा सिफारिससहित चुनावी अभियानमै जुट्ने रास्वपाको तयारी छ ।
रास्वपाले आवेदन प्रक्रिया पूर्णरूपमा डिजिटल बनाउँदै पार्टीको आधिकारिक इमलेमार्फत आवेदन दिन सकिने व्यवस्था गरेको छ। रास्वपाले पहिलो चरणमा उम्मेदवारको निवेदनपछि थप प्रक्रिया अगाडी बढाउने जनाएको छ ।











