हरिकृष्ण गौतम
सुन्तलाको आम्दानीबाट म्याग्दीको बेनी नगरपालिका–३,भकिम्ली मरेककी ७२ बर्षिया कर्णकुमारी पुर्जा पुनले जिर्ण घर भत्काएर पक्की घर बनाउँदै हुनुहुन्छ । गतबर्ष सुन्तला बेचेर १५ लाखसहित आफुँसँग बचत रहेको केही रकम खर्चिएर बनाउँदै गरेको ढलान घरमा रंगरोगन भइरहेको छ । यसबर्ष १० लाखभन्दा बढीको सुन्तला फलेको छ । कर्णकुमारीले फलाएको सुन्तलाको दुई बर्षकोे कमाइबाट घर ठडिन्छ ।
कुनैसमय आर्थिक संकटले गुज्रिएको अवस्थामा घरव्यवहार टार्न सुन्तला रोप्नुभएकी कर्णकुमारीको बगैचा अहिले सुनजस्तै पहेँलपूर छ। श्रीमानको निधनपछि जोत्ने हलगोरू, खेताला खोज्न झन्झट लागेर सुन्तला खेती गर्नुभएकी कर्णकुमारीले एकदशक यता घरमै आउने ब्यापारीलाई सुन्तला बेचेर हजार नभई लाख बुझ्नुहुन्छ ।
परम्परागत खेतीबाली लगाउन छाडेर करिब २० बर्ष अगाडी केही थान बिरूवा ल्याएर खेती थालेकी कर्णकुमारीले पहिलोउत्पादन बेचेर १६ सय कमाउनुभएको थियो । कर्णकुमारीले सुन्तलाबाट सय, हजार हुदैं १५ लाखसम्म बुझ्नुभएको छ । कर्णकुमारीले १० रोपनी क्षेत्रफलमा सुन्तला बगैचा फैलिएको छ ।
कुनैबर्ष रोगले सुन्तला सखाप हुदाँ निराश भएपनि हरेस नखाएकी कर्णकुमारीको दैनिकी सुन्तला बगैंचामै बित्ने गरेको छ । ‘बुढेकालमा पनि सुन्तलाको मायाँ धेरै लाग्छ, मलाई अति दुख पर्दा सुन्तलाको कमाइले काम गरेको छ, बिरामी हुदाँ पनि मेरो औषधि पनि हो’ कर्णकुमारीले भन्नुभयो । गतबर्षको तुलनामा कम फलेपनि उत्पादनबाट सन्तुष्ट रहेको कर्णकुमारीले बताउनुभयो ।

बि.स २०६७ साल चैत्र महिनामा आंतकारीको आक्रमणबाट अफगानिस्तानमा रहेका श्रीमानलाई गुमाएकी कर्णकुमारीले सुन्तलाको कमाइले छोरीहरूको शिक्षादिक्षा,विवाह लगायतका घरायसी खर्चसँगै बचत समेत गरेको कर्णकुमारीको भनाई छ ।
‘आफ्नो संसार उजाडिएपछि मलाई बाँच्न सुन्तलाले सिकाएको छ, सुन्तलाले आर्थिक रुपमा बलियो बनाएको छ’ कर्णकुमारीले बेनीअनलाइनलाई भन्नुभयो । सन्तानलाई जस्तै मायाँ गरी हुर्काएका बोटको अम्दानीबाट सन्तुष्ट कर्णकुमारीले सुन्तलाको रेखदेखका गर्दागदै धेरै रात बगैचामै बितेको छ ।
सुन्तलाखेती बुढेसकालको सहारा बनेको छ । घरखर्च चलाउन श्रीमान, सन्तानमाथि निर्भर हुनुपर्ने अवस्थाको अन्त्य गर्न फलफुल र तरकारी खेती गरे पुग्ने कर्णकुमारीको सुझाव छ। मरेकका अगुवा कृषक पदमबहादुर खत्रीले कर्णकुमारीले पुरुषको तुलनामा सुन्तलाबाट कमाउने गरेको बताउनुभयो । ‘उहाँ गाउँमा सबैभन्ँदा धेरै फलाउने कृषकको रुपमा चिनिनुहुन्छ, घरमा महिला आर्थिक रुपमा बलियो हुदाँको अवस्थाको उदाहरण बन्नुभएको छ’ पदमबहादुरले भन्नुभयो ।

बाहिरी जिल्लाबाट आएका ब्यापारीले स्थानीय कृषकको बगैंचामा पुगेर टिप्न,बोक्न, ग्रेडिङ गर्न र क्यारेटमा मिलाएर बजारमा लैजादाँ पहिलो रोजाईमा कर्णकुमारीको बगैंचा पर्छ । मरेक र बालम गाउँबाट ३६ जना कृषकले गतबर्ष यसबर्ष १ करोड ८० लाख बराबरको सुन्तला बिक्री गरेकोमा यसबर्ष उत्पादन कम भएकाले डेढ करोडको सुन्तला फलेको अनुमान गरिएको छ ।











