हरिकृष्ण गौतम
म्याग्दीको बेनी नगरपालिका–३,मरेकका इन्द्रबहादुर थापा क्षेत्रीको बगैंचामा फलेको सुन्तलाको बोट एक महिना अगाडी नै बिक्री भयो। ब्यापारी कान्छा तामाङले घरमै पुगेर २ लाख पेश्की दिएर बोटमा लटरम्म फलेको सुन्तला खरिद गर्नुभयो । कृषक क्षेत्रीको बगैंचामा यसबर्ष करिब ७ लाख बराबरको सुन्तला फलेको छ । गाउँका अगुवा कृषक क्षेत्रीसहित अधिकास कृषकको बोटमा फलेको सुन्तला टिप्न नपाउँदै बिक्री भएको छ ।

गतबर्ष १ करोड ८० लाख बराबरको सुन्तला बिक्री गरेका मरेक, बालम क्षेत्रका कृषकको बारीमा यसपटक तुलनात्मक रूपमा उत्पादनन घटेपनि ब्यापारीले घरदैलामै आएर लैजान्छन् । कुनै जमनामा घरायसी प्रयोजनका लागि घरआगनमा बिरूबा रोपेका स्थानीय कृषकले बोकेर बेनीबजारसम्म लैजानुपर्ने बाध्यता सडक सञ्जालले गाउँ छोएपछि अहिले बजारको समस्या छैन ।

बर्षभरी मेहनत गरेर फलाएको सुन्तलाको उचित मुल्य पाएपछि पुराना कृषकले बगैंचा विस्तार गरेका छन् भने नयाँ कृषकले धमाधम अन्य अन्नबाली लगाउने खेतबारीमा सुन्तला खेती गरेको स्थानीय अगुवा कृषक पदमबहादुर खत्रीले बताउनुभयो । ‘ब्यापारीको खोसाखोस छ, यहाँका सुन्तला रसिलो हुने भएकाले राम्रो मुल्य दिने ब्यापारीलाई बिक्री गछौं’ कृषक खत्रीले भन्नुभयो । अघिल्लो बर्ष करिब २० लाखको सुन्तला बिक्री गर्नुभएका कृषक खत्रीले यसपटक नयाँ बोटमा राम्रो फलेपनि गतबर्षको तुलनामा कम आम्दानी हुने बताउनुभयो ।

मरेकमा इन्द्रबहादुर थापा,रेशम थापा, पदमबहादुर थापा, दिलबहादुर थापा,कर्णबहादुर सुबेदी, एकल महिला कर्णकुमारी पुर्जा पुन, जमुना थापाले धेरै सुन्तला बिक्री गर्नुहुन्छ । न्यूनतम ५० हजारदेखि १५ लाखसम्मको सुन्तला बिक्री गर्ने कृषकले पछिल्लो समय उत्पादन र गुणस्तर बढाउन ग्राफ्टिङ बिरुवाको विस्तारमा लागेका छन् ।

मरेकसँगै छेपारे, मेदी, खुर्सानीबारीमा बगैंचा विस्तार भएको छ। बैदेशिक रोजगारबाट फर्किएका मरेकका गोविन्द बिक, बिशाल विकसुन्तला खेतीमा लाग्नुभएको छ । वडा अध्यक्ष पदमबहादुर पुनले समेत नयाँ बगैंचा विस्तार गरी यूवाहरुलाई पलायन हुन रोक्ने गरी बाँझो जमिनमा सुन्तला खेतीको प्रोत्साहन गर्ने योजना सहित खुर्र्सानीबारी भन्ने स्थानमा नयाँ बगैंचा बनाउनुभएको छ । ब्यापारीले बगैचामै ‘ए’ र ‘बी’ ग्रेडको सुन्तला ८० रुपैयाँ र ‘सी’ ६० रुपैयाँ ब्यापारीले गाउँमै मूल्य दिएर ढुवानी गरेका छन् ।

कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख सञ्जीब बास्तोलाले अघिल्लो बर्षको तुलनामा उत्पादन घटेको बताउनुभयो । ‘अघिल्लो बर्ष राम्रो फलेको बोटमा यसबर्ष कम छ, यहाँ उत्पादन भएको सुन्तलाको बजार समस्या छैन’ प्रमुख बास्तोलाले भन्नुभयो । म्याग्दीमा पुस महिनाभरी उत्पादिन अधिकांस सुन्तला बजारमा जान्छ । परम्परागत खेतीबाट हातमुख जोड्न समेत धौधौ हुने अवस्थामा सुन्तला खेतीले पाँचगुणा बढी फाइदा भएपछि स्थानीयले नर्सरी नै स्थापना गरी खाली जमिन, पाखो र खरबारीमा समेत सुन्तला विस्तार गरेका छन् ।









