---Advertisement---

विविध कार्यक्रमसहित प्रकाश माविले मनायो ७३औं वार्षिकोत्सव

On: December 25, 2025 9:03 AM
Follow Us:

म्याग्दीको सदरमुकाम बेनीमा सञ्चालित प्रकाश माध्यमिक विद्यालयको आयोजनामा बुधवार ७३औँ वार्षिकोत्सव तथा अभिभावक दिवससहित विविध कार्यक्रम सम्पन्न भएको छ । विद्यालय स्थापना भएको ७३ वर्ष पुगेको अवसर पारेर विद्यालयद्वारा विविध कार्यक्रमसहित वार्षिकोत्सव र अभिभावक दिवस मनाएको हो ।

वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा ३ दशमलव ८३ जिपिएसहित सामुदायिक विद्यालयतर्फ कक्षा १२ मा जिल्ला प्रथम हुने विद्यार्थी टेनिस छन्त्याललाई सम्मान गरिएको छ । यसैगरी माध्यमिक शिक्षा परीक्षा (एसइई)मा ३ दशमलव ९० जिपिएसहित सामुदायिक विद्यालयतर्फ जिल्लामा तृतीय हुन सफल विद्यार्थी सुप्रिम ढुङ्गाना र अभिभावकद्वय भगवान ढुङ्गाना तथा कमला ढुङ्गानालाई पनि सम्मान गरिएको विद्यालयले जनाएको छ ।

सोही अवसरमा विद्यालयका पूर्व शिक्षक मुक्तिनाथ पौडेललाई विदाई गरिएको थियो । कार्यक्रममा विद्यालयको विभिन्न तहमा उत्कृष्ट शिक्षक, कर्मचारी, विद्यार्थी र अभिभावकलाई सम्मान गरिएको छ ।

सम्मानित शिक्षक तथा कर्मचारीहरुमा ममता थापा, राजनकुमार श्रेष्ठ, डिलप्रसाद श्रेष्ठ, भगवान ढुङ्गाना, नारायणप्रसाद ढुङ्गाना, तेजिन्द्र रेग्मी, शान्ति रामदाम, अभिभावकतर्फ भक्त सिंकिजा पुन र देवी परियार, विद्यार्थीतर्फ सर्वोत्कृष्ट प्रसिस रिजाल, उत्कृष्टहरु विशिखा पाईजा, काजल फगामी, अभिषेक केसी र उपासना थापा रहनुभएको छ । वार्षिकोत्सव समारोहमा विद्यार्थीहरुले विभिन्न नृत्यहरु प्रस्तुत गरेका थिए भने विद्यालयका प्रधानाध्यापक लेखबहादुर हमालले विद्यालयको शैक्षिक तथा प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो ।

वार्षिकोत्सव समारोह तथा अभिभावक दिवसको उद्घाटन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले वर्तमान समयमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले शिक्षक तथा कर्मचारी शैक्षिक क्षेत्रको मार्गदर्शक भएकाले शिक्षा क्षेत्रको दीगो विकास गर्नका लागि शिक्षक, विद्यार्थी र अभिभावकहरु एकापसमा हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको राम्रो प्रतिफल आउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय सरकारमार्फत आफ्नो कार्य क्षेत्रभित्र रहेका विद्यालयहरुको सबलीकरण तथा शैक्षिक प्रवद्र्धन गर्नको लागि आवश्यक पहल थालिएको बताउँदै शिक्षक दरबन्दी मिलान, आवश्यक स्रोतसाधनको व्यवस्थापन र शैक्षिक गुणस्तर वृद्धि गर्नेतर्फ ध्यान दिइएको बताउनुभयो ।

बेनी नगरपालिका वडानम्बर ७ बेनीका वडा अध्यक्ष रमेशकुमार श्रेष्ठले वडा तथा नगरपालिकामार्फत शैक्षिक क्षेत्रको विकासमा आवश्यक सहयोग गर्ने गरिएको जानकारी दिनुभयो । कार्यक्रममा विद्यालयको आजीवन संरक्षक दलप्रसाद श्रेष्ठ, विद्यालयका पूर्व प्रअ शिवप्रसाद केसी, म्याग्दी बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख भोलानाथ घिमिरे, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दीका सभापति अमर बानियाँ, पूर्व वडा अध्यक्ष सुवास श्रेष्ठ र विद्यालयको शिक्षक अभिभावक संघका अध्यक्ष लिलाराम गौतमले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकृष्ण श्रेष्ठको अध्यक्षता, सहायक प्रअद्वय टेकप्रसाद सुवेदीको स्वागत र विनय श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको थियो । उक्त कार्यक्रमको अवसरमा युवा रेडक्रस सर्कलद्वारा प्रकाशित प्रकाश माविको साहित्यिक कोसेली प्रकाशपुञ्जको विमोचन समेत गरिएको थियो ।

Leave a Comment