हरिकृष्ण गौतम
विद्यालयमा गएर अक्षर चिन्ने उमेरमा भेडाको बथान लिएर बुकीमा गएका म्याग्दीको धवलागिरी गाउँपालिका–१ गूर्जाका नरेन्द्र छन्त्याल अहिले उमेरले ६२ बर्ष भए । सातबर्षकै उमेरमा भेडाका भेडाका बथान खेत्दै गूर्जा र चुरेन हिमालको काखमा पुगेका नरेन्द्रले घर नजिकै रहेको जनकल्याण माविमा पढ्नका लागि जिन्दगीमा कहिल्यै पनि पाइला टेकेनन् ।
गाउँका साथीहरूसँग हातमा किताब, कपीकलम लिएर हिड्नुपर्ने उमेरमा विहान उठेदेखि राति अबेरसम्म भेडाबाख्राको स्याहार सुसारमा ब्यस्त भएका नरेन्द्रले ५० बर्ष भेडापालनमै विताए । सेताम्मे हिमालको बुकी र फाँटमा जिवनको धेरै बर्ष खर्चिएका उनलाई सानोमा बाआमाले पढ्न नपठाएकोमा अहिले अक्षर चिन्ने नपाएकोमा भने पछुतो छ ।
घरको मुख्य आम्दानीको स्रोत भेडापालनमा बाल्यअवस्था,तन्नेरी र बुढेशकाल विताएका नरेन्द्रको जीवनका सबैभन्दा रमाइलो, उत्साहजनक जोस र जाँगर बुकीमै हिउँसँगै पग्लिएर गयो ।
उनीसँग केबल गोठमा घामपानी, असिना,हिउँमा कठिन तरिकाले रमाएका र बन्यजन्तुले झम्टिएको अनुभवहरू छन् । बालापनको रमाइलो अनुभव भनेकै भेडाका बथानसँग विताएका क्षणहरू सम्झिने नरेन्द्र सिकिस्त बिरामी हुदाँ समेत बुकी छोडेनन् । पुख्यौली पेशालाई निरन्तरता दिएका नरेन्द्रको गोठमा अहिले २५ वटामात्रै भेडा, पाठापाठी छन् ।


तन्नेरी अवस्थामा तीन सय वटासम्म भेडापालन गरेका उनले अहिले गोठालाको समेत अभाव हुन थालेपछि घटाउँदै लगेको बताउँछन् । ‘अब एक्लै भेडापालन गर्न मुस्किल छ,जीवन नै बुकीमा बित्यो, अब घरखर्च चलाउनै मात्रै पाल्छु’ भेडापालक नरेन्द्रले भने । उनले अनपढ भएकाले संख्या धेरै हुँदा गन्न र बिक्री गर्दा समेत अलमल पर्ने गरेको बताए । ‘जीवन नै ल्याप्चे लाउँदैमा बित्यो, अब अक्षर चिन्न स्कुल जाने कुरा भएन, बाँच्चुजेल भेडासँगै रमाउँछु’ नरेन्द्रले भने।
फर्काउन मिल्ने भए पुनः बलापनमा फर्किने रहर रहेको बताउँदै स्कुलमा गएर पढ्न नपाएको भेडाको जस्तै जीवन भएको भन्दै बताए। बर्षभरी अधिकांस समय आकाशमुनि जङ्गलमै रात बिताउने उनले हिउँदभन्दा वर्षामा दैनिकी कष्टकर हुने अनुभव सुनाए ।

जाडो याममा हिउँ पर्न थालेपछि गोठ लिएर गाउँमा झरेका नरेन्द्र बर्खाको समयमा भिषण बर्षामा पनि बुकीमै विताउँछन् । वर्षामा बन्यजन्तुको आतंकका कारण पाठापाठी हुर्काउन बढी समस्या हुने गरेको बताए । उनले बर्षनी भेडाका बथानबाट बन्यजन्तुले गर्ने नोक्सानी जोगाउन कुकुरलाई सँगै राख्छन् ।
भोटे कुकुरले आफ्नो र जङ्गली जनावरबाट भेडालाई जोगाउन मद्दत गरेको बताए। ‘भेडा खान आउने चितुवाले धेरैपटक झम्टिएको छ, गोठमा बस्न पनि सजिलो छैन।’ गूर्जामा करिब २० घरपरिवारले ब्यवसायिक भेडापालन गरेका छन् । युवापुस्ता बैदेशिक रोजगारीका लागि पलायन हुन थालेपछि बुढापाकाले मात्रै भेडापालन गर्ने गरेको वडा अध्यक्ष झक छन्त्यालले बताए । गाउँमा गरिएको भेडा बेच्न बजार जानुपर्ने बाध्यता छैन् ।

गाउँमा विभिन्न पूजाआजामा बलि दिन र मासुका लागि भेडीगोठ नै पुग्ने गरेका छन् । परम्परागतरुपमा हुँदै आएको भेडापालनलाई व्यावसायिक र व्यवस्थित बनाउन गाउँपालिका र भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रलेसमेत अनुदान, तालिम र परामर्श सेवाका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
त्यसैगरी गाउँपालिकाले समेत भेडापालन किसानलाई लक्षित गरेर विभिन्न रोगबिरुद्धको खोप अभियान,औषधि उपचार, गोठाला बस्नका लागि त्रिपाल, मोबाइल चार्जका लागि सोलार र गोठ सुधारका कार्यक्रम सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष प्रेमप्रसाद पुनको भनाई छ ।

उमेर बढ्दै जाँदा गालाका छाला चाउरी पर्न लागेका र बिरामी भेडापालकलाई नियमित स्वास्थ्य परीक्षणमा समेत जोड्ने गरिएको छ ।म्याग्दीमा धवलागिरि गाउँपालिकामा भेडापालन, गाईभैसीको घुम्ती गोठमा पशुपालन हुने गरेको छ । गूर्जा, लुलाङ,मुना, मुदी, मल्कबाङ क्षेत्रमा परम्परागत घुम्ती गोठ राखेर पशुपालन हुँदै आएको छ ।










