उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका–२, नेचुङमा अवस्थित मुस्ताङ भन्सार कार्यालयले ब्यावसायिक रुपमा सञ्चालनमा आएको पाँच महिना नपुग्दै ५ अर्बभन्दा बढी राजस्व संंकलन गरेको छ ।
चीनको स्वायत्त प्रदेश तिब्बतको झोङवासेन जिल्लाबाट लिजी–नेचुङ (कोरला) बाट नियमित विद्युतीय सवारी साधनसहित अन्य सामान बोकेका कन्टेनरहरू भित्रिएसँगै पुस महिनाको १० गतेसम्म ५ अर्ब ६ करोड ६२ लाख राजस्व उठाएको भन्सार कार्यालयले जनाएको छ ।
विहान र बेलुकीको समयमा माइन तापक्रम रहेको भन्सार कार्यालयमा २ हजार ७४ विद्युतीय (इभी) गाडीसहित मालवाहक, कन्टेनरमार्फत सामान पैठारी भएको छ भने निकासीतर्फ नेपालमा उत्पादन हुने हस्तकला सामग्री, कपडा लगायतका सामान रहेको छ ।

यो अवधिमा १० अर्ब ८२ करोड ९८ लाख बराबरको सामान आयात तथा १८ करोड ९७ लाख ७८ हजार बराबरको निर्यात भएको भन्सार कार्यालय प्रमुख रमेश खड्काले बताउनुभयो ।

ब्यावसायिक रुपमा कोरला नाका सञ्चालनमा आएपछि उपल्लो मुस्ताङबासीले चिसोमा समेत ब्यापार तथा भन्सारबाट आउने सामान ढुवानीका कारण कोरला नाकामा मजदुर, चालक र केही स्थानीय ब्यापारी रहेका छन् । समुन्द्रि सतहदेखि चार हजार ६ सय ५० मिटर उचाइमा अवस्थित कोरोला नाका २०८० कात्तिक २७ देखि औपचारिक उदघाटन भएको नाका चालु आर्थिक बर्ष २०८२– ८३ भदौ महिनाको ३० गतेदेखि ब्यावसायिक रुपमा सञ्चालनमा आएको थियो ।












