---Advertisement---

प्रदेश अस्पताल बेनी म्याग्दीका नवनियुक्त अध्यक्ष बानियाँद्वारा पदभारग्रहण

On: December 27, 2025 4:20 PM
Follow Us:

प्रदेश अस्पताल बेनी म्याग्दीको आयोजनामा शुक्रवार नवनियुक्त अध्यक्षको पदभारग्रहण कार्यक्रम सम्पन्न भएको छ । अस्पताल परिसरमा एक समारोहबीच गण्डकी प्रदेश सरकारद्वारा प्रदेश अस्पताल बेनी म्याग्दीको व्यवस्थापन समितिको अध्यक्षमा हालै नियुक्त हुनुभएका डेकबहादुर बानियाँलाई पदभारग्रहण गराइएको हो ।

नवनियुक्त अध्यक्षको पदभारग्रहण कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला समन्वय समिति म्याग्दीका कार्यवाहक प्रमुख डिलकुमारी खत्रीले ५० शैया क्षमताको प्रदेश अस्पताल बेनीको निर्माणाधीन भवनको बाँकी कामसम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित मन्त्रालय तथा कार्यालयलाई ताकेता गरिएको बताउनुभयो ।

आफू छोटो समय अस्पतालको अध्यक्ष भएको अवस्थामा अस्पतालको सुधार गर्न र आवश्यक स्रोतसाधन व्यवस्थापनमा पहल गरेको बताउनुभयो । बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले प्रदेश अस्पताल बेनीको विकासका लागि आर्थिक तथा भौतिक रुपमा सहयोग उपलब्ध गराइने बताउनुभयो ।

प्रदेश अस्पताल बेनी म्याग्दीका नवनियुक्त अध्यक्ष बानियाँले प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै उपलब्ध स्रोत र साधनको अधिकतम उपयोग गरेर संस्थाको उद्देश्य हासिल गरिने बताउनुभयो । उहाँले अस्पतालको न्यूनतम सेवा सुविधालाई पनि गुणस्तरीय रुपमा प्रदान गरेर सेवाग्राहीलाई सन्तुष्टी बनाउन आफूले सहजीकरण गर्ने बताउँदै सेवा प्रदान गर्ने सवालमा कर्मचारीको जिम्मेवारी महत्वपूर्ण हुने बताउनुभयो ।

अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदीले अस्पतालभित्र रहेको शल्यक्रिया कक्षको क्षमता बढाउनुपर्ने बताउँदै आफ्नो कार्यकालमा अस्पतालमा सुधारका धेरै प्रयासहरु गरेको बताउनुभयो । उहाँले भवन निर्माणको काम सकिए पनि अझै भित्री संरचनाहरु राम्रोसँग नबनेको हुँदा त्यसलाई सुधार्न आवश्यक रहेकोमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले अस्पतालबाट गुणस्तरीय सेवा प्रदान गर्नुपर्ने बताउँदै उपचारको क्रममा सेवाग्राहीमैत्री व्यवहार प्रस्तुत गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो ।

प्रदेश अस्पताल बेनीका निमित्त प्रमुख मेडिकल सुपरिन्टेडेन्ट डा. हेमन्त बाँस्तोलाले अस्पतालको सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरोकारवाला निकाय सबैले सहयोग गनुपर्ने बताउनुभयो ।

पदभारग्रहण कार्यक्रम डा. बाँस्तोलाको अध्यक्षता, मेडिकल अधिकृत डा. रामु सापकोटाको स्वागत र प्रशासन प्रमुख निर्पराज खनालको सञ्चालनमा सम्पन्न भएको थियो । गण्डकी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले बानियाँलाई गत मंसिरमा अध्यक्षमा नियुक्त गरेको थियो ।

Leave a Comment