मालिका गाउँपालिकाको चालु आर्थिक वर्षको बजेट खर्च एक प्रतिशत भन्दा पनि थोरै भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले प्रस्तुुत गर्नुभएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको पुस ११ गते सम्म शुन्य दशमलब ९२ प्रतिशत मात्रै बिकास बजेट खर्च भएको हो । ११ करोड २९ लाख २५ हजार पाँच सय कुल बजेट मध्ये १० लाख ४० हजार एक सय ४४ रुपियाँ मात्रै हाल सम्म खर्च भएको हो ।

चालु आर्थिक वर्ष २०८२÷०८३ को हाल सम्मको अवधिमा भए गरेका विकास निर्माण तथा सेवा प्रवाह सम्बन्धी सर्वाजनिक सुनुवाइमा सहभागी ११ जनाले कार्यालयको सेवा प्रवाह तथा विकास निर्माण सन्दर्भमा प्रश्न राख्नु भएको थियो । दरवाङका व्यवसायी अमृत सापकोटा, रेशम खत्री, बुद्धि जुगजाली, सपना गिरी, ओमबहादुर रोका, हिरा पुन, सुनिता थापा, जुना केसी, सुमन गर्बुजा, दिवाकर सुवेदी, भीमकुमारी खत्रीले सार्वजनिक सुनुवाई कार्यक्रममा आफ्नो गुनासो तथा धारणा राखेका थिए ।

गाउँपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा जनसहभागिताको सन्दर्भमा म्याग्दी उद्योग बाणिज्य संघ मालिका बजार इकाइका उपाध्यक्ष समेत रहनु भएका सापकोटाले सवाल उठाउनु भएको थियो । उहाँले हरेक वडाबाट कम्तिमा पनि ३ जना सेवाग्राही र जनप्रतिनिधि अनिवार्य भएको खण्डमा उचित हुने धारणा राख्दै ससरिर उपस्थित गराउन नसकेको खण्डमा अडियो वा भिडियो मार्फत पनि प्रश्न राख्ने व्यवस्था गर्न माग गर्नु भएको थियो ।

जलविद्युत आयोजनाले निर्माण सामग्री बोक्ने १० चक्के ठुला गाडी हिडाउने भए पनि सडक स्तरोन्नती र धुलो न्यूनिकरणका लागि प्रयास नभएको बुद्धि जुगजालीको भनाई थियो । उहाँले योजना छनौट गर्दा कम्तिमा पनि स्थानीयको सहभागितामा हुन पर्नेमा जोड दिन आग्रह गर्नुभएको थियो । मालिका गाउँपालिकाले फोहोर व्यवस्थापन गर्दा अपनाएको विधिले प्रदुषण बढेकोले त्यसलाई परिवर्तन गर्नका लागि सपना गिरीले सुझाब राख्नु भएको थियो ।


प्याब्सन म्याग्दीका अध्यक्ष हिरा पुनले सार्वजनिक सुनुवाइमा जनप्रतिनिधिकै सहभागीता नभएको प्रति चासो राख्नु भएको थियो । वडा नम्बर ३, ४ र ५ का जनप्रतिनिधिहरु नआएर आफू प्रति उठ्ने सवालबाटै भागेको जस्तो भएको उहाँको तर्क थियो । ओमबहादुर रोकाले उपभोक्ता समिति बनाएर काम गर्दा समिति नोक्सानी व्यहोर्न बाध्य हुने गरेको गुनासो गर्नु भएको थियो ।

उहाँले उपभोक्ता समिति आफै नोक्सानी व्यहोरेर काम गर्नु पर्ने र लेखा शाखामा भुक्तानीका लागि जाँदा अनावश्यक सास्ती दिने गरेको गुनासा गर्नु भएको थियो । सहभागीहरुले स्थानीय स्तरमा मगरहरुको बाहुल्य ज्यादा भएको हुनाले मगर भाषाको संरक्षण र सम्बद्र्धनमा पनि पालिकाले काम गर्नु पर्नेमा जोड दिनु भएको थियो ।

गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजाले सवालको जवाफ दिँदै फोहोर व्यवस्थापनका लागि प्रयास भै रहेको, सडक विस्तारका लागि प्रकृया अगाडी बढ्ने समयमा स्थानीयले जग्गा नदिदा समस्या भएको धारणा राख्नु भएको थियो । सडकमा भएको धुलो व्यवस्थापनका लागि पाइप मार्फत पानी हाल्ने व्यवस्था तत्काल गर्ने उहाँले बताउनुभयो । लेखा शाखाले गाउँपालिकाको काममा असहयोग गरेको उहाँको भनाई थियो ।

सार्वजनिक सुनुवाई कार्यक्रम हँदै गर्दा पनि लेखा शाखामा रहेका दुवै जना कर्मचारी अनुपस्थित रहेका थिए । लेखा शाखा प्रमुखलाई फोन सम्पर्क गर्दा समेत फोन नउठाउने समस्या रहेको कार्यक्रमका सहभागीको भनाई थियो ।

गाउँपालिका उपाध्यक्ष लक्ष्मीदेवी घर्ती मगर पुनले कतिपय काम गर्दा विधि नपुग्दा समस्या भएको हुन सक्ने भए पनि सबैले राम्रोका लागि प्रयास गर्नु पर्ने बताउन भयो । उहाँले उपभोक्ताहरुले इष्टमेट अनुसार काम गरेको खण्डमा समस्या नहुने बताउनुभएको थियो ।प्रमुख प्रशासकिय अधिकृत हरिश्चन्द्र ढकालले गाउँपालिका भित्र हुने हरेक काममा सहजीकरणको प्रयास गरीएको बताउनुभयो ।

उहाँले भन्नुभयो लेखा शाखाबाट पटकपटक असहयोग भएको मान्न सकिने बताउँदै सार्वजनिक सुनुवाइमा समेत लेखाका दुवै जना कर्मचारी सहभागी नहुनाले पनि जनतालाई लेखाले दुख दिएको मान्न जनतालाई अप्ठेरो नपर्ने समेत बताउनु भएको थियो ।

कार्यक्रम नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका सहसचिव सन्दिप शर्मा रिजालको सञ्चालन तथा अमृत बास्कुनेको सहजीकरणमा सम्पन्न भएको थियो । वडा नम्बर १ का कार्यवाहक वडा अध्यक्ष मानसिंह सापकोटा, २ का अध्यक्ष उदयकुमार बुढाथोकी, ६ का पथबहादुर रोका, ७ का अध्यक्ष टकबहादुर पुनले आफ्नो धारणा राख्नु भएको थियो । सहभागीको प्रश्नमा कार्यालयका तर्फबाट होमदेवी खत्री, सरोज पन्त, कृषि शाखाकी सुस्मिता सुवेदीलगायतले आफ्नो शाखा सम्बन्धीत जवाफ दिनु भएको थियो ।









