आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनका लागि नेकपा एमाले म्याग्दीबाट विभिन्न पाँच जनाको उम्मेदवारीका लागि नाम सिफारिस भएको छ । शुक्रवार हाँडेभीरस्थित शहिद स्मृति भवन पार्टी कार्यालयमा सम्पन्न जिल्ला कमिटीको पूर्ण वैठकले प्रतिनिधि सभामा उम्मेदवारहरुको नाम सिफारिस गरेको हो ।
एमाले म्याग्दीको जिल्ला कमिटीको वैठकले प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवारका लागि नेकपा एमाले केन्द्रीय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष बालकृष्ण सुवेदी, पूर्व जिल्ला कमिटी सदस्य एवं यूवा नेता प्रकाश पौडेल, सचिवालय सदस्य पशुपति शाही र मजदुर नेता एवं जिल्ला कमिटी सदस्य बलादेवी राईको नाम पार्टी केन्द्रमा सिफारिस गरिएको एमाले म्याग्दीका सचिव थमसरा पुनले जानकारी दिएकी छन् ।

उम्मेदवार सिफारिस भएका नेता श्रेष्ठ वि.सं. २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार खमबहादुर गर्बुजा (खम्बीर)सँग पराजित भएका थिए । उनी गएको मंसिर २७ देखि पुस ३ गते सम्पन्न एमालेको ११औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भएका छन् । श्रेष्ठ एमाले म्याग्दीको दुई कार्यकाल पार्टी अध्यक्ष भएर जिल्लामा पार्टीको सङ्गठन बलियो बनाउनुका साथै सशक्त बनाएका थिए भने २०७० साल र ०७४ सालमा सम्पन्न संविधान सभाको दोस्रो र आम निर्वाचनमा पार्टीलाई विजयी बनाउन नेतृत्वदायी भूमिका खेलेका थिए ।
अर्का उम्मेदवार सिफारिस भएका सुवेदी एमाले म्याग्दीको जिल्ला अध्यक्ष हुन् भने उनी आसन्न राष्ट्रिय सभा निर्वाचनमा म्याग्दीबाट एकल सिफारिस भएका छन् । जिल्लामा राजनीतिसँगै सुवेदी सामाजिक क्षेत्रमा सक्रिय रहेका छन् ।
उम्मेदवार पौडेल भने चर्चित विद्यार्थी तथा युवा नेता हुन् । हालै एमालेका महाधिवेशनमा २१ मत अर्थात् झिनो मतान्तरले पराजित हुन पुगेका पौडेल अनेरास्ववियुको केन्द्रीय अध्यक्षमा जम्मा ७ मतले मात्रै पराजित भए । उनी युवा तथा विद्यार्थीमाझ निकै लोकप्रिय मानिन्छन् । सचिवालय सदस्य शाही ०७९ सालको स्थानीय तहको निर्वाचनका लागि बेनी नगरपालिकाको नगर उपप्रमुख पदमा पराजित हुन् भने राई मजदुर नेता हुन् । उनी हाल क्युपेक नेपालको केन्द्रीय सदस्य छिन् ।










