म्याग्दीको सदरमुकाम बेनीमा सुविधासम्पन्न भलिबल कभर्डहल निर्माण लागि आर्थिक सहयोग अभियानको घोषणा भएको छ । नेपालको राष्ट्रि«य खेल तथा लोकप्रिय खेलको सूचीमा रहेको भलिबलको प्रशिक्षण तथा खेल कर्भड हलमा सञ्चालन गर्ने उद्देश्यले जिल्ला भलिबल संघ म्याग्दीको जग्गा खरिद र कभर्डहल निर्माणका लागि शनिबारदेखि सहयोग सङ्कलन अभियान सुरु गरेको हो ।

राष्ट्रिय महिला भलिबल टोलीकी क्याप्टेन अरुणा शाही, कमला पुन सहित राष्ट्रि«य तथा क्षेत्रीयस्तरा खेलाडी उत्पादन गरेको म्याग्दीमा खेलाडी उत्पादन तथ प्रतियोगिताहरू खुल्ला आकाशमा हुने गरेकोमा अब कभर्डहलमा गर्ने गरी अभियान सुरू भएको अध्यक्ष तेजेन्द्र बानियाँले बताए ।

‘म्याग्दीमा एउटा कभर्डहल अति आवश्यक थियो, यो तीनबर्ष अगाडीको योजना अहिले सुरुवात भएको छ’ अध्यक्ष बानियाँले भने । कभर्डहलका लागि आवश्यक पर्ने बेनी नगरपालिका–७ बौद्ध विहार नजिकै दुई रोपनी ८ आना क्षेत्रफलमा फैलिएको जग्गा एक करोड ४२ लाख ५० हजारमाजग्गा खरिद गर्ने योजना रहेको छ । पहिलो चरणमा जग्गा खरिद गरेपछि दोस्रो चरणमा कभर्डहल निर्माण सुरु गरिने संघका महासचिव कुमार किसानले बताए ।

कभर्डहल निर्माणका लागि स्थानीय तह, प्रदेश, सङ्घीय सरकार र जिल्लावासीबाट सहयोगको अपेक्षा गरिएको महासचिव किसानको भनाई छ । कभर्डहलमा एक हजार जना दर्शक क्षमता भएको भलिबल कोर्ट, जिमहल, कपडा फेर्ने कोठा, अफिसियल बैठककक्ष,चमेनागृह, प्यारापिट, विद्युत्, ध्वनि उपकरण, एसी, शौचालय, सयनकक्ष, एलसिडी बोर्ड, भण्डारण, जेनेरेटर सहित अन्य इन्डोर खेल विधालाई समेत स्थान दिइने छ ।

कभर्डहल चार वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । कुल साढे ३ करोड लागत लाग्ने अनुमान गरिएको छ । भलिबल संघको आफ्नै जग्गा नहुदाँ संरचना बनाउन सरकारी बजेटको सुनिश्चिततामा समस्या भइरहेको छ । सहयोग सङ्कलन अभियानको पहिलो दिन शनिबार अध्यक्ष बानियाँले एक लाख, व्यवसायी नरेन्द्र बस्नेत, जीवन खत्री, ईश्वर आचार्य, भीमनाथ शर्माले ५०–५० हजार र चिरञ्जीवी शर्माले २५ हजारसहयोग गरेका छन् ।

विसं २०८० मा म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) यूकेको सहयोगमा स्थापना गरिएको ४७ लाखको अक्षयकोष रकम वृद्धि गरी ब्याजबाट खेल प्रशिक्षण तथा प्रतियोगिताहरु सञ्चालन गरिएको छ । जिल्लामा बार्षिक विद्यालयस्तरीय म्याग्दी भलिबल कप तथा प्रशिक्षण समेत दिने गरेको संघमार्फत खेलाडी उत्पादन तथा प्रोत्साहनका कार्यहरु समेत नियमित भइरहेको छ । कभर्डहल निर्माण गर्ने योजनालाई प्रवासमा रहेका म्याग्देली, सरकारी निकाय, स्थानीय तह तथा जिल्लाका जनप्रतिनिधि, राजनीतिक दल र निजी क्षेत्रले प्रतिबद्धता समेत जनाएका छन् ।













