---Advertisement---

म्याग्दीमा आत्महत्याको डरलाग्दो ग्राफ

On: January 4, 2026 4:47 PM
Follow Us:


हरिकृष्ण गौतम
म्याग्दीमा पछिल्लो एक दशकमा साढे २ सय जनाले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीको सार्वजनिक गरेको तथ्याङ्क हेर्दा एक वर्ष मात्र घटेको र बाँकी ९ वर्ष बढेको तथ्याङ्क हेर्दा ’भयावह अवस्था’ देखिन्छ । झुण्डिएर, विष खाएर, पानी तथा भिरबाट हाम फालेर सहित विभिन्न कारणले आत्महत्या गरेकामा आर्थिक बर्ष २०७५÷०७६ मा १२ जना र आव ०८०÷८१ मा १९ रहेको बाहेक बाँकी ८ बर्षको तथ्याङ्कले म्याग्दीमा आत्महत्या डरलाग्दो सामाजिक समस्या बनेको प्रष्ट हुन्छ ।

चालु आव ०८२÷८३ को हालसम्म ८ जनाले भुण्डिएर र खोलामा हाम फालेर आफ्नो ज्यान लिएकोमा ७ जना पुरूष, १ महिला रहेकोमा सबैभन्दा धेरै बेनी नगरपालिकामा ४ जना, मंगला, मालिका, धवलागिरी, रघुगंगामा बाँकी ४ जना रहेकोमा १८–४५ उमेर समुहका ७ र ४५ बर्षमाथिका देखि १ जना महिला रहेको देखिन्छ ।


एक दशकको तथ्याङ्कका आधारमा म्याग्दी जिल्लाभित्र बर्षेनी १५ जनाभन्दा बढी मानिसहरूले आत्महत्या गर्ने गरेको देखिन्छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आफ्नो मृत्यु रोज्ने प्रकृति हेर्दा अधिकांसले घरभित्र,बनजंगल तथा सार्वजनिक स्थानमा झुण्डिएर आत्महत्याको बाटो रोज्न गरेको देखिन्छ ।

एक दशकको तथ्याङ्क हेर्दा आत्महत्या गर्नेहरूको सुचीमा पुरूष १ सय ५९ जना, महिला ९१ जना रहेका छन् । आत्महत्या गर्ने उमेर समुहमा रोजगारका लागि उपययुक्त उमेर समुह मानिने १८ देखि ४५ बर्र्षभित्रका धेरै देखिन्छन् ।

पारिवारिक जिम्मेबारी, शिक्षादीक्षा सहित ब्यवसायिक क्षेत्रमा संलग्न, बैदेशिक रोजगारी तथा अन्य पेशा ब्यवसायमा संलग्न १८–४५ वषका १ सय ३५ जना, ४५ वर्षभन्दा माथिका ७४ जना, १८ वर्ष मुनिका ३७ जना र उमेर नखुलेका४ जनाले एकदशकको अवधिमा संसार त्यागेका छन् । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायव उपरीक्षक सुर्यबहादुर थापाका अनुसार गरिबी, पारिवारिक तनाव, घरेलु हिंसा, मानसिक असन्तुलन, दीर्घरोग लगायतका कारणले मानिसहरूले आत्महत्या रोज्ने गरेको पाइएको छ ।


आत्महत्या गर्नेहरूमध्ये झुन्डिएर ज्यान फाल्नेमा क्षणिक रिसका कारण समेत रहेकाले सामाजिक सचेतनामुलक अभियान सञ्चालन गर्नुपर्ने प्रनाउ थापाको भनाई छ । ‘म्याग्दीमा आत्महत्या डरलाग्दो समस्या बनेको छ,न्यूनिकरणका अभियान प्रहरी एक्लैले गरेर सम्भव छैन, सबै संघसंस्थामार्फत सचेतनामुलक अभियानमा जोडिनुपर्छ’ प्रनाउ थापाले भने । जिल्ला प्रहरी कार्यालय म्याग्दीले समुदायमा प्रहरी कार्यक्रम अन्तरगत आत्महत्या न्यूनिकरणका अभियानलाई प्राथमिकता दिने गरेको छ ।

१८ बर्ष उमेर समुहभन्दा तलका बालबालिका, किशोरकिशोरीले आत्महत्याको बाटो रोज्नु झनै भयानक भएको भन्दै विद्यालयदेखि समुदायसम्म एकजुट भएर अभियान सञ्चालन गर्नुपर्ने गैरसरकारी संस्था महासंघ म्याग्दीका अध्यक्ष दिपक पौडेलले बताए । गैसस महासंघका अध्यक्ष पौडेलले आत्महत्याको प्रकार, कुन समयमा आत्महत्या बढी हुन्छ, कुन बार बढीले आत्महत्या रोज्छन्, कुन महिना र कुन उमेरमा आत्महत्या भएको बारेमा समेत अध्ययन गर्न सकिने बताए ।


विवाह गरेको वा नगरेकाले किन आत्महत्या रोज्छन् भन्ने विषयमा अध्ययन गरी न्यूनिकरणका अभियान सञ्चालन गर्नुपर्ने बताए ।साथै कुन जातजातिमध्ये लैंगिक समूहमा आत्महत्या बढी रोजिएको छ भन्ने जानकारी हुन सकेमा समुदायस्तरमा समेत अभियानले सघाउने अध्यक्ष पौडेलको भनाई छ । आत्महत्या गर्नेहरूको संख्या दिनानुदिन वृद्धि हुनुले मानिसहरूमा नैरास्यता, गरिबी, मानसिक असन्तुलन, पारिवारिक तनाब बढेको प्रहरीको अनुसन्धानमा देखिन्छ ।

मदिरा सेवन, डिप्रेशन,पारिवारिक तनाव र गरिबी आत्महत्याका मुख्य कारण मानिएको प्रहरीको अनुसन्धानमा देखिन्छ । म्याग्दीमा आत्महत्या बिहान ६ बजेदेखि १२ बजे र दिउँसो १ बजेदेखि बेलुका ६ बजेसम्म आत्महत्याका घटना बढी भएका छन् । गरिबीमा चेपिएका मानिसहरूले घरमा कोही नभएको समय बिहान वा दिउँसो नै आत्महत्या गर्ने गरेका छन् भने परिवारबाट असहयोग तथा नियमित मानसिक तनावका कारण वृद्धवृद्धाले पनि आत्महत्या राजेको देखिन्छ ।

सबैभन्दा धेरै बेनी नगरपालिकामा
म्याग्दीमा एकदशकको अवधिमा सबैभन्दा धेरै आत्महत्या गर्नेमा बेनी नगरपालिका देखिन्छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा बेनपामा १ सय १२ जना,मंगला गाउँपालिका ४४, रघुगंगा गाउँपालिका ३७, अन्नपूर्ण गाउँपालिका २१,मालिका गाउँपालिका २० र धवलागिरी गाउँपालिका १५ रहेका छन् । जसमा सबैभन्दा बढी १८–४५ वर्ष उमेर समूहका रहेको देखिन्छ ।

स्थानीय तहगत रूपमा हेर्दा बेनी नगरपालिका आत्महत्याको उच्च जोखिम क्षेत्र (हटस्पट)का रूपमा देखिएको छ ।म्याग्दीमा आत्महत्यालाई मानसिक स्वास्थ्य, पारिवारिक समस्या, आर्थिक तनाव, बेरोजगारी र सामाजिक दबाबसँग जोडिएको गम्भीर सामाजिक समस्याका रूपमा लिनुपर्ने म्याग्दी बहुमुखी क्याम्पसमा प्रमुख श्रीधर सुबेदीले बताए ।


आत्महत्या न्यूनीकरणका लागि समुदायस्तरीय परामर्श सेवा, विद्यालय तथा कलेज तहमा मानसिक स्वास्थ्य शिक्षा, जनचेतना र जोखिम समूहको समयमै पहिचान आवश्यक रहेको क्याम्पस प्रमुख सुबेदीको भनाई छ । व्यक्तिमा नकरात्मक सोचको विकास हुदा आत्महत्या हुने गरेकोले त्यसलाई न्यूनिकरण गर्न प्रत्येक नागरिकलाई मनोपरामर्श आवस्यक रहेको बताए।

आत्महत्या हुनुको मुख्य कारण डिप्रेसन रहेको भन्दै त्यसबाट जोगाउन प्रत्येक टोलको नागरिकसम्म मनोविमर्श गर्नु आवस्यक रहेको क्याम्पस प्रमुख सुबेदीको भनाई छ । आत्महत्या समस्या समाधान गर्ने माध्यम नभइ अरुलाई दुख दिने एक पाटो रहेकोले सम्वन्धित व्यक्तिको सबै कुरा सुनेर सहि बाटोमा ल्याउन पहल गर्नुपर्ने जानकारहरु बताउँछन् । नेपाला विश्व आत्महत्या रोकथाम दिवस हरेक वर्षको सेप्टेम्बर १० तारिखको दिन मनाउने गरिएको छ ।
एकदशकको आत्महत्याको अवस्था
आव २०७२÷०७३ मा २४ जना
आव.२०७३÷०७४ मा २१ जना
आव.२०७३÷७५ मा २४ जना ।
आव २०७५÷७६मा १२ जना
आव २०७६÷०७७ मा२१ जना
आव २०७७÷०७८ मा ३० जना
आव २०७८÷०७९ मा ३० जना
आव २०७९÷०८० मा ३५ जना
आव २०८०÷०८१ मा १९ जना
आव २०८१÷०८२ मा २५ जना
चालु आव २०८२÷०८३ हालसम्म ९ जना

Leave a Comment