आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगले म्याग्दीमा मुख्य निर्वाचन अधिकृत तोकेको छ। २०८२ साल फागुन २१ गते हुने निर्वाचनका लागि जिल्ला न्यायधिश सुर्यबहादुर थापालाई मुख्य निर्वाचन अधिकृत नियुक्ति गरिएको हो ।
२०८२ पुस २५ गतेदेखि लागू हुने गरी प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ८ बमोजिम मुख्य निर्वाचन अधिकृतमा नियुक्ति गरिएको छ। नियुक्ति भएका मुख्य निर्वाचन अधिकृतले २०८२ माघ २ मा आफू खटिएको निर्वाचन क्षेत्रभित्र मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरी निर्वाचन कार्यक्रम सञ्चालन गर्नुहुनेछ।
निर्वाचनमा उम्मेदवारहरुको उम्मेदवारी दर्ता, निर्वाचनसम्बन्धी सामग्रीको व्यवस्थापन तथा भण्डारण, निर्वाचनको प्रशासनिक काम–कारवाही, मतगणनालगायत निर्वाचनसँग सम्बन्धित सम्पूर्ण कामहरु सञ्चालन गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको जिल्ला निर्वाचन कार्यालय म्याग्दीले जनाएको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि मात्रै निर्वाचनको आवश्यक तयारी औपचारिक रुपमा सुरु हुने छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचनका सबै गतिविधिहरु सञ्चालन गरेपछि जिल्लामा चुनावी माहोल बढ्ने छ ।








