न्यू धौलागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २६ औ साधारणसभा तथा आठौ अधिवेशनबाट पुनः अमृतलाल श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
बेनीको न्युरोडमा मुख्य कार्यालय रहेको सहकारीको शनिबार निर्णय प्रमाणित सभा सहित अधिवेशनबाट आगामी ४ वर्षका लागि अध्यक्षमा श्रेष्ठ, उपाध्यक्ष रामजीप्रसाद सुवेदी, सचिवमा चन्द्रकुमार केसी, कोषाध्यक्षमा बमबहादुर पुन, अनुशा गौचन, हेमन्त थापा, तुलप्रसाद श्रेष्ठ, भिमबिक्रम मल्ल र अमित बानिया चयन रहेका छन् । बिरेन्द्रमान शाक्यको संयोजकत्वमा गठन भएको लेखा सुपरिवेक्षण समितिको सदस्यमा खड्ग गिरी र अनिता केसी खड्का रहनुभएको छ । लिलाबहादुर बानिया निवर्तमान अध्यक्ष रहेका छन् ।

पुस ११ गतेदेखि सेवा केन्द्र एकाईगत साधारणसभा गरेको संस्थाको इकाई प्रतिनिधिहरुको उपस्थितिमा धवलागिरी गाउँपालिकाको मुनामा मदन मल्ल, अन्नपूर्ण गापाको पोखरेबगरमा ठगराज बरुवाल, मंगला गापाको बाबियाचौरमा देवीकुमारी खत्री, मालिका गापाको दरवाङमा मुक्ति पुन, पर्वत जलजला गाउँपालिकाको मल्लाजमा हेमन्त थापा, बेनीमा बिपिन चोखाल, तातोपानीमा तुलप्रसाद श्रेष्ठ सेवा केन्द्र संयोजक चयन भएको सचिव केसीले बताए ।
वि.स. २०५६ मा स्थापना भएको न्यू धौलागिरि सहकारी संस्थाको ८ करोड ८० लाख ८९ हजार सेयर पुँजी रहेकोमा गत आर्थिक वर्ष २०८१÷०८२ मा ५३ करोड १४ लाख ७८ हजार निक्षेप संकलन र ५२ करोड १२ लाख कर्जा लगानी गरेको छ । संंस्थाको ९ करोड ६८ लाख ९७ हजार कुल आम्दानी र ७ करोड ७७ लाख कुल खर्च गरेको गरेकोमा १ करोड ९१ लाख ६६ हजार मुनाफा रहेको छ ।
बेनी नगरपालिकाका प्रमुख सुरत केसीले साधारणसभाको उद्घाटन गर्दै सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहजिकरण गरिरहेको बताए ।
म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर अध्ययनरत सोमबहादुर खत्रीलाई १५ हजार ५ सय छात्रवृत्ति सहयोग गरेको सहकारीले मानव सेवा आश्रम बाग्लुङलाई २५ हजार पाँच सय ५५, दरवाङकी पार्वती कामीलाई अध्ययनका लागि१२ हजार र साविक तातोपानी कृषि सहकारी संस्थाले प्रर्वद्धन गरेको लेतेखोलाको कृषि सहकारी भवन मर्मतमा ६० हजार खर्च गरेको जनाएको छ ।









