---Advertisement---

माटो मिसिएको गिट्टी प्रयोग भएको ढलान जनप्रतिनिधीले भत्काइदिए

On: January 6, 2026 7:48 AM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिका-७ झिनडाडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको ढलान जनप्रतिनिधीहरुले भत्काइदिएका छन् । दरवाङ–मुना–ढोरपाटन सडक योजना अन्र्तगत झिनडाडामा ह्युम पाइप अडाउन पर्खाल निर्माणका लागि जगमा पिसिसी ढलान गर्दा माटो मिसिएको गिट्टी प्रयोग भएको पाइएको हो ।

योजना अनुगमनका लागि सोमबार झिनडाडा पुगेका गण्डकी प्रदेशसभा सदस्य तथा पुर्वमन्त्री रेशम बहादुर जुग्जाली (सुविन), धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन, उपाध्यक्ष रेशम पुनमगरले ढलान भत्काएर पुनःनिर्माण गर्न लगाउनुभएको हो । स्थानीयबासीले गुनासो गरेपछि पूर्वाधार विकास कार्यालयका प्राविधिक टोली सहित पुग्दा उक्त ठाउँमा पिसिसि ढलानका क्रममा माटो मिसिएको गिट्टी प्रयोग भएको भेटिएपछि तत्कालै भत्काएर पुनः निर्माण गर्न लगाएको प्रदेशसभा सदस्य जुग्जालीले बताउनुभयो।

“निर्माण स्थलमा तयार पारिएको मसला (सिमेन्ट, गिट्टी र बालुवा)को मिश्रणमा सडक ग्राभेल गर्न कुटेको बेस हालेको भेटिएपछि थुपारेको मसला फाल्न र गरेको ढलान भत्काउन लगाइएको हो,” उहाँले भन्नुभयो “निर्माण कम्पनीका कर्मचारीले कमजोरी स्विकार गरेर आगामी दिनमा गल्ती नदोहो¥याउने प्रतिवद्धता जनाएका छन् । निगरानी र अनुगमनमा कडाईका लागि पूर्वाधार विकास कार्यालयका प्राविधिकहरुलाई निर्देशन दिएका छौ ।”

स्थानीयबासी विश्वास कुमाईले पिसिसी ढलानमा प्रयोग भएको निर्माण सामग्रीको गुणस्तरमा शंका लागेपछि ब्यवसायीलाई सचेत बनाउदा अटेर गरेपछि भिडियो खिचेर सामाजिक सञ्जाल मार्फत सार्वजनिक र जनप्रतिनिधीहरुलाई जानकारी गराएको बताउनुभयो। मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी– दरवाङ– धारापानी– ताकम– मुना–जलजला–ढोरपाटन सडक अन्तर्गत धारापानी देखि झिनडाडा खण्डमा ढलान, कालोपत्र र ग्राभेल गर्न वि.स. २०८१ जेठ २० गते रामसागर बिके एस केबीएस धौलागिरी जेभीले रु. १४ करोड ६१ लाखमा पूर्वाधार विकास कार्यालय म्याग्दीसँग ठेक्का सम्झौता गरेको थियो ।

निर्माण कम्पनीका कर्मचारी मेक थापामगरले मजदुरहरुले लापरबाही गर्दा ग्राभेलका लागि तयार पारेको बेस पिसिसीमा प्रयोग भएको स्विकार गर्दै कमजोरी सुधार गरिएको र गुणस्तर तथा मापदण्डमा संवेदनशिल हुने प्रतिवद्धता जनाउनुभयो । पूर्वाधार विकास कार्यालयका सवइञ्जिनियर घनश्याम रोकाले ह्युम पाइप राख्ने ठाउँमा बनाउने संरचना र निर्माण सामग्रीको गुणस्तरको विषयमा लिखित रुपमा स्पष्ट निर्देशन दिएपनि कमजोरी देखिनु ठेकेदारको कमजोरी भएको बताउनुभयो ।

गण्डकी प्रदेश सरकार मार्फत सञ्चालित यस आयोजना म्याग्दीको रणनीतिक महत्वको र प्राथमिकता प्राप्त हो । हालसम्म ७१ प्रतिशत भौतिक प्रगति भएको यस योजनाको ताकम खण्डमा करिब छ सय मिटर प्रिमिक्स कालोपत्रको तयारी भएको छ । ठेकेदारले संरचना निर्माण सकेर बेस र सबबेस बिछ्याएको छ । छ किलोमिटर दुरीमा सडकलाई फरालिको बनाउने, नाली र पर्खाल निर्माणको अन्तिम चरणमा पुगेको छ । धारापानीमा वि.स. २०६६ मा सडक पुगेको थियो ।

यो सडक धवलागिरी गाउँपालिकाको पाँच वटा वडाका बासिन्दाले प्रयोग गर्ने प्रमुख मार्ग हो । आठ मिटरका दरले सडक फराकिलो पार्ने, नाली र टेवा पर्खाल निर्माण अन्तिम चरणमा पुुगेको सडक चालु आर्थिक वर्ष भित्रनै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ । यो सडक यसअघि चार देखि पाँच मिटर फराकिलो थियो । यो सडक आयोजना अन्तर्गत दरवाङ–धारापानी (सात किलोमिटर) र मच्छिम–मुना (चार किलोमिटर) अक्सफाल्ट प्रबिधिको कालोपत्र र ढलान गर्न रु. ५२ करोड ८० लाख ५३ हजारमा ठेक्का सम्झौता भएको अर्को योजना पनि निर्माण शुरु भएको छ ।

गत असारमा सम्झौता भएको यस योजनाको ठेक्का अवधी २७ महिनाको रहेको छ । म्याग्दीको मंगला मालिका, धवलागिरि गाउँपालिकाका साथै बागलुङको ढोरपाटन र पूर्वीरुकुमका बासिन्दालाई पोखरा–काठमाडौँ जावतजावत गर्न ७० किलोमिटर छोटो पर्ने भएकाले यसलाई रणनीतिक महत्वको मानिएको छ । धवलागिरीको केन्द्र मुना देखि खोरीया, मरेनी जलजला हुदै ढोरपाटन हालै सडक सञ्जालमा जोडिएको छ ।

Leave a Comment