---Advertisement---

धवलागिरीमा थप रु. चार करोड बजेट बाँडफाँट

On: January 6, 2026 7:45 PM
Follow Us:

म्याग्दीको धवलागिरी गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को लागि थप रु. चार करोड बजेट बिनियोजन गरेको छ ।

गाउँपालिकाको केन्द्र मुनामा पालिका अध्यक्ष प्रेमप्रसाद पुनको अध्यक्षतामा मंगलबार सम्पन्न २५ औ गाउँसभाले गत आर्थिक वर्षमा खर्च हुन नसकेको बजेट चालु आर्थिक वर्षका लागि बिनियोजन गरेको हो ।

गत असारको सभाले बनाएको रु. ४६ करोड ५६ लाख छ हजार पाँच सय ६३ को बजेटलाई बिनियोजन ऐन संसोधन गरेर रु. ५० करोड ५६ लाख छ हजार पाँच सय ६३ बनाउने उपाध्यक्ष रेशम पुनमगरले प्रस्तुत गरेको प्रस्ताव सर्वसम्मत पारित गरेको हो ।

रु. चार करोड मध्य यसअघि रु. एक करोड बजेट बिनियोजन भएको निर्माणाधिन प्रशासकीय भवनलाई पूर्णता दिन थप रु. एक करोड सहित पूर्वाधार योजनाहरुलाई रु. एक करोड ६५ लाख र बाँकी सामाजिक र आर्थिक विकाससँग सम्बन्धित कार्यक्रमलाई बिनियोजन भएको गाउँ कार्यपालिकाका प्रवत्ता देवेन्द्र रोकाले जानकारी दिनुभयो ।

सभाले कृषि कार्यक्रम सञ्चालनका लागि तयार पारेको कार्यविधि पारित र घरजग्गाको मूल्याङ्कनको राजस्व दरलाई घटाउने निर्णय गरेको प्रवत्ता रोकाले बताउनुभयो । सभामा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगितामा पदक दिलाएका खेलाडी, शिक्षक र शिक्षिकाहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

हाल अस्टे«लीयामा रहेका गाउँपालिकाका पुर्वकर्मचारी आश्विन खत्रीले संकलन गरेर पठाएको रु. ५५ हजार खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको हो । ११ औ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा धवलागिरीले एक स्वर्ण, दुई रजत र पाँच कास्य पदक जितेको थियो । सभामा हालसम्म कुल बजेटको १८ प्रतिशत खर्च र लक्ष्यको ७३ प्रतिशत राजस्व संकलन भएको प्रगति विवरण जानकारी गराइएको थियो ।

असार महिनायता भएका कार्यपालिकाको बैठकलाई सभाले अनुमोदन गरेको प्रमुख प्रशासकीय अधिकृत बिष्णुप्रसाद शर्माले बताउनुभयो । चालु आर्थिक वर्षमा प्रशासकीय, पाँच शैया क्षमताको अस्पताल भवन निर्माणलाई पुर्णता दिने, गुर्जा र भेडिखाल्डालाई सडक सञ्जालसँग जोड्ने योजनालाई प्राथमिकता दिएको छ । –

Leave a Comment