---Advertisement---

म्याग्दीमा एआई र मोबाइल पत्रकारिता तालिम : ११ बुँदे एआई प्रयोगको प्रतिबद्धतासहित म्याग्दी घोषणापत्र जारी

On: January 8, 2026 11:10 AM
Follow Us:

म्याग्दी– म्याग्दीको सदरमुकाम बेनीमा सम्पन्न एआई र मोबाइल पत्रकारिता तालिममार्फत ११ बुँदे एआई म्याग्दी घोषणापत्र–२०८२ जारी भएको छ । पछिल्लो समय एआई अर्थात् कृत्रिम बुद्धिमताको प्रयोग व्यापक रुपमा बढ्दै गैरहेको अवस्थामा एआई दुरुपयोग हुन नदिनका लागि प्रतिबद्धतासहित घोषणापत्र जारी गरिएको हो ।

प्रेस रजिस्ट्रारको कार्यालय गण्डकी प्रदेश पोखराको आर्थिक सहयोग र नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको आयोजनामा मङ्गलवार सुरु भई बुधवार सकिएको तालिमका आयोजक, प्रशिक्षक र सहभागीहरुले प्रतिबद्धता जनाउँदै एआईको सदुपयोग गर्नेगरी घोषणा गरेका हुन् । जारी घोषणापत्रमार्फत समाजमा भ्रम फैलाउने, सद्घाव खल्बलाउने, अश्लिलता जस्ता कुनै पनि काममा एआईको दुरुपयोग नगर्ने र नगराउने प्रतिवद्धता जनाइएको छ ।

यसैगरी एआईको प्रयोग आवश्यकता अनुसार मात्रै गर्ने र मानवको रोजगारी, मानवीयता, सिर्जनात्मकता, क्रियाशीलता, सत्यता र जीवन्ततालाई असर नपर्नेतर्फ विशेष ध्यान दिइने तथा सबै पत्रकार एवं सञ्चारकर्मीहरुलाई एआई प्रयोगमा सिपयुक्त बनाउन एकापसमा ज्ञान आदानप्रदान र प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइने नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले जानकारी दिनुभयो । त्यस्तै पत्रकारहरुका लागि तत्कालै एआई आचारसंहिता आवश्यक भएकाले सम्बन्धित निकायलाई जारी गर्न समेत अपिल गरिएको छ ।

घोषणापत्रमा एआईको प्रयोग पत्रकारिताबाहेक अन्य क्षेत्रमा पनि हुने भएकाले शिक्षा, स्वास्थ्य, कृषि, व्यापार, व्यवसाय लगायतका सबै क्षेत्रमा एआईको सही र जिम्मेवार तरिकाले प्रयोगका लागि अनुरोध गर्दै पैरवीकर्ता तथा सहजकर्ताको भूमिका खेल्ने समेत उल्लेख गरिएको छ । एआईको प्रयोगलाई व्यवस्थित बनाउन स्थानीय सरकार, सरकारी निकाय, सामाजिक तथा निजी संघसंस्थाुसहित सबै सकारोकारवाला निकायहरुलाई एआई साक्षरता, सचेतना, सिप र शिक्षा फैलाउन, आचारसंहिता निर्माण, प्रशिक्षण लगायतका कार्यहरु तत्काल सञ्चालन गर्नका लागि ध्यानाकर्षण गराइने अध्यक्ष गौतमले बताउनुभयो ।

दुई दिनसम्म बेनीमा सञ्चालित तालिमको समापनसत्रलाई सम्बोधन गर्दै बेनी नगरपालिकाका नगर प्रमुख सुरत केसीले सूचना प्रविधि, कृत्रिम बुद्धिमता र मोबाइल पत्रकारितालगायत आधुनिक सिपहरु पछिल्लो समय पत्रकारिताका लागि अपरिहार्य बन्दै गएको बताउनुभयो । पत्रकार तथा सञ्चारकर्मीलाई लक्षित एआई सम्बन्धी तालिमले तथ्यपरक, प्रभावकारी र उत्तरदायी बनाउन सहयोगी भूमिका खेल्ने समेत उहाँले बताउनुभयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकारका प्रेस रजिस्ट्रार बिमला भण्डारीले तालिममा सिकेका ज्ञान र सिपलाई पत्रकारिता क्षेत्रमा प्रयोग गर्न तथा दैनिक व्यवहारमा समेत उतार्नका लागि सहभागीलाई सुझाव दिनुभयो । उहाँले प्रेस रजिष्ट्रारको कार्यालयले गण्डकी प्रदेशमा सञ्चालित टेलिभिजन तथा रेडियोको नवीकरण र अनुगमनको काम सुरु गरेकाले अब दर्ताको काम पनि सञ्चालन गर्न लागेको जानकारी दिँदै आगामी दिनमा पत्रकार तथा सञ्चारकर्मीहरुलाई लक्षित गरेर विभिन्न तालिम, गोष्ठी र सेमिनाहरु सञ्चालन गरिने बताउनुभयो ।

तालिममा अनलाईन टिभी पत्रकार संघका अध्यक्ष जीवन भण्डारीले आम सञ्चारमाध्यमहरुमा एआईको प्रयोग, यसको सान्दर्भिकता र आवश्यकता, जोखिमविरुद्ध अपनाउनुपर्ने सावधानीहरु तथा मोबाइल पत्रकारिताको विषयमा सहजीकरण गर्नुभएको थियो । पत्रकार महासंघ म्याग्दी शाखाका अध्यक्ष गौतमको अध्यक्षता र सचिव ठाकुरप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न समापनसत्रमा सहभागीद्वय देवी जिसी र गणेश गुरुङले अनुभव सुनाउनुभएको थियो ।

तालिममा स्थानीय तथा राष्ट्रिय मिडियामा क्रियाशील पत्रकारसहित सञ्चारकर्मी र कन्टेन्ट क्रियटरहरुले सहभागिता जनाएका थिए । उक्त तालिमको समापनसत्रमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीका सहसचिव एवं तालिमका संयोजक प्रताप बानियाँले निर्माण गरिएको एआई प्रविधिको प्रयोग सम्बन्धी विषयको म्याग्दी घोषणापत्र वाचन गरेर सुनाउनुभएको थियो ।

Leave a Comment