म्याग्दीको सदरमुकाम बेनीमा सामान किन्ने बाहनामा ठगी गर्ने भारतीय गिरोह समुह बनाएर सक्रिय रहेको पाइएको छ । भारतीय नागरिकले पसल, डेरीमा सामान खरिद गर्ने बाहनामा पैसा दिएजस्तै गरी ठगीमा संलग्न दुई यूवालाई स्थानीयले नियन्त्रण गरी प्रहरीमा बुझाएका छन् ।
जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक सागर तिमिल्सिनाले पसलमा सामान खरिद गर्ने बाहनामा रु १ हजार र ५ सय रुपैयाँ दिएर किन्न खोज्ने जस्तै गरी पुनः पैसा माग्ने गरेको सिसीटिभी फुटेजको आधारमा थप अनुसन्धान भइरहेको बताउनुभयो। ‘पैसा दिएजस्तै गरी ठगि गर्ने गरेको पाइएको छ, एक महिलालाई पनि भेटियो, सामान किन्ने बाहनामा आउनेबाट सचेत हुनुहोला’ प्रहरी निरीक्षक तिमिल्सिनाले भन्नुभयो ।
शुक्रबार बेनी न्यूरोडमा रहेको पि एण्ड पि क्याफेमा सामान किन्न आएका एउटा समुहले २ हजार ठगि गरी गएपछि अर्को समुह आउँदा सञ्चालक डिएल कँडेलले समातेर प्रहरीको जिम्मा लगाउनुभएको थियो । म्याग्दीमा सामान खरिद, सुन बनाउने लगायत अन्य बाहनामा आउने अपरिचित ब्यक्तिबाट सचेत हुन अनुरोध समेत गरिएको छ ।









