कक्षा कोठामा अब आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोग गर्नुपर्ने शनिबार म्याग्दीको सदरमुकाम बेनीमा आयोजित एक कार्यक्रममा बताइएको छ । विद्यार्थीसँग घुलमिल हुनेदेखि पढाउने तरिकामा समेत एआईको प्रभाव, प्रयोगका बारेमा नेपाल शिक्षक संघ म्याग्दीले आयोजना गरेको प्रशिक्षण तालिममा इन्टरनेट तथा ल्यापटप÷कम्प्युटरको पहुँचको विस्तारसँगै एआईको प्रयोग समेत आवश्यक रहेको बताइएको थियो ।

नेपाल शिक्षक संघ, सुचना तथा सञ्चार विभाग, गण्डकी प्रदेश प्रमुख प्रशिक्षक श्रीकृष्ण आचार्यले शिक्षण क्षेत्रमा एआई प्रयोग हुन थालेको अवस्थामा कार्यसम्पादनलाई सहज बनाउन होस् वा शिक्षण साम्रागी तयार गरी विद्यार्थीलाई सिकाउने कार्य निकै फलदायी हुने बताउनुभयो । विश्वभर एआईको प्रयोग गरी पठनपाठन सहितका कार्यहरु प्रभावकारी भएपनि नेपालमा भने हालसम्म प्रयोगमा कमी रहेको अवस्थामा म्याग्दीका शिक्षकले प्रयोग गर्न सकिने प्रमुख आचार्यको भनाई छ ।

तालिममा शिक्षक÷शिक्षिकालाई उपयोगी हुने एआई टुलको प्रयोग तथा अभ्यास गरिएको थियो । तालिममा नेपाल शिक्षक संघ जिल्ला कार्य समिति, नगर र गाउँ पालिका पदाधिकारीहरु सहित ४० जनाको सहभागिता रहेको थियो । तालिमको अध्यक्षता संघका अध्यक्ष नगेन्द्र खत्री, सञ्चालन सचिव बिनय श्रेष्ठले गर्नुभएको थियो । तालिममा सहभागि शिक्षकले आफ्नो विद्यालय र पालिकामा गएर अन्य शिक्षकहरूलाई पनि सक्षम बनाउने सघाउने अध्यक्ष खत्रीको भनाई छ ।











