नेपाल कम्युनिष्ट पार्टी (एमाले) बेनी नगरपालिका कमिटी म्याग्दीको शुक्रवार सदरमुकाम बेनीमा विस्तारित वैठक सम्पन्न भएको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य पदको निर्वाचनलाई केन्द्रीत गरेर आयोजित वैठकले निर्वाचनलक्षित विभिन्न समितिहरु गठन गर्नुका साथै योजनाहरु बनाएको हो ।
नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य हरिकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न वैठकमा निर्वाचनलाई मध्यनजर गर्दै बेनी नगरपालिका कमिटीका अध्यक्ष बेलबहादुर कटुवालको संयोजकत्वमा २ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन भएको छ । यसैगरी नगर कमिटीका सचिव भोजबहादुर रिजालको संयोजकत्वमा सचिवालय व्यवस्थापन कमिटी गठन गरिएको एमाले बेनी नगरपालिका कमिटीले जनाएको छ ।

त्यस्तै नगर कमिटी उपसचिव सुनिता केसीको संयोजकत्वमा आर्थिक व्यवस्थापन र उपसचिव विवेक हमालको संयोजकत्वमा युवा परिचालन कमिटी गठन गरिएको बेनी नगर कमिटीका अध्यक्ष कटुवालले जानकारी दिनुभयो । विस्तारित वैठकमा आगामी माघ ६ गतेभन्दा पहिले नै बेनी नगरका सबै १० वटै वडाहरुमा विस्तारित वैठक आयोजना गर्ने समेत निर्णय गरिएको छ । एमालेले आसन्न निर्वाचन आफ्नो पक्षमा पार्नका लागि पार्टी सरकारमा हुँदा गरेका राम्रा कामहरुलाई जनताको माझमा पु¥याएर प्रचारप्रसार गर्ने भएको छ ।
विस्तारित वैठकलाई सम्बोधन गर्दै एमाले केन्द्रीय सदस्य श्रेष्ठले विगतमा भएका निर्वाचनको तथ्याङ्कलाई हेर्दा पनि म्याग्दी जिल्लामा एमाले पहिलो शक्तिका रुपमा रहेकाले आउँदो निर्वाचन पनि एमालेले जित्नुपर्ने बताउनुभयो । उहाँले विभिन्न समयमा पार्टीले सरकारको नेतृत्व गर्दाको समयमा गरेका राम्रा र असल कामहरुलाई जनतामाझ लगेर प्रचारप्रसार गर्नुपर्ने बताउँदै देशको विकास गर्ने र स्पष्ट भिजन भएको पार्टी एमाले भएकाले आसन्न निर्वाचनलाई पार्टीको पक्षमा पार्ने गरी खट्न नेता, कार्यकर्ताहरुलाई दिर्नेशन समेत दिनुभयो ।

एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले वर्तमान परिस्थितिमा विभिन्न समूह र पार्टीले फैलाएको भ्रमलाई चिरेर आसन्न निर्वाचन एमालेको पक्षमा पार्नुको विकल्प नभएकोमा जोड दिनुभयो । कार्यक्रममा एमाले म्याग्दीका उपाध्यक्ष प्रमोद श्रेष्ठ, जिल्ला सल्लाहकार परिषद् सभापति रामप्रसाद सुवेदी, जिल्ला कमिटी सदस्य टेकबहादुर रावल, आउँदो निर्वाचनका लागि प्रस्तावित उम्मेदवारद्वय पशुपति शाही र प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
एमाले बेनी नगर सचिव भोजबहादुर रिजालको सञ्चालनमा सम्पन्न वैठकमा अध्यक्ष बेलबहादुर कटुवालले स्वागतसँगै विस्तारित वैठकका लागि तय गरिएका एजेण्डाहरु प्रस्तुत गर्नुभएको थियो । एमालेले आसन्न निर्वाचनलाई लक्षित गरेर जिल्लाको पालिकास्तरमा पार्टीका गतिविधिहरु अगाडि बढाएको छ ।










