---Advertisement---

मानव अधिकार एलायन्स म्याग्दीको अध्यक्षमा पुनः थापा

On: January 10, 2026 9:55 PM
Follow Us:

राष्ट्रिय मानव अधिकार तथा सामाजिक न्याय मञ्च नेपाल (मानव अधिकार एलायन्स) म्याग्दीको अध्यक्षमा पुनः कमला बानियाँ थापा चयन हुनुभएको छ । एलायन्स म्याग्दीको शुक्रवार सदरमुकाम बेनीमा सम्पन्न छैटौँ जिल्ला भेला तथा अधिवेशनबाट थापाको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरिएको हो ।

अधिवेशनबाट एलायन्सको जिल्ला उपाध्यक्षमा भूलकुमारी रोका, सचिवमा चन्द्रकला बानियाँ, कोषाध्यक्षमा मनिशा हमाल र सहसचिवमा राधिका विश्वकर्मालाई चयन गरिएको छ । यसैगरी कार्यसमिति सदस्यहरुमा करुणा थापा, दिपलक मल्ल र शिव बोहोरा चयन हुनुभएको छ ।

छैटौँ जिल्ला भेला तथा अधिवेशनको उद्घाटन गर्दै मानव अधिकार एलायन्सका केन्द्रीय सदस्य पदमराज पहारीले समुदायमा हुने जुनसुकै घटनाहरुमा पनि एलायन्सले बहस, पैरवी र खबरदारी गर्दै आइरहेको बताउनुभयो । उहाँले मानव अधिकार एलायन्सलाई मानव अधिकारको पक्षमा वकालत गर्ने बलियो सङ्गठनको रुपमा स्थापित गराउनुपर्ने बताउँदै मानवीय सहयोग तथा समुदायमा सचेतना फैलाउने कार्यमा समेत सशक्त बनाउन आवश्यक रहेको बताउनुभयो ।

नेकपा एमाले म्याग्दीका अध्यक्ष बालकृष्ण सुवेदीले मानव अधिकार एलायन्सले समाजमा हुने दमन, अत्याचार तथा विसङ्गतिका विरुद्ध निरन्तर रुपमा खबरदारी र आवाज उठाउनुपर्ने बताउनुभयो । कार्यक्रममा मानव अधिकार एलायन्स गण्डकी प्रदेशका अध्यक्ष डाक्टर बुद्धिबहादुर थापा र केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज दिलमाया बिटालुले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

अधिवेशनको उद्घाटनसत्रमा एलायन्स म्याग्दीका अध्यक्ष कमला बानियाँ थापाले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष थापाको अध्यक्षतासहित स्वागत र कार्यसमिति सदस्य भूलकुमारी रोकाको सञ्चालनमा सम्पन्न कार्यक्रममा मानव अधिकारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Comment