---Advertisement---

उद्यमी युवाको कथा२० वर्षिय युवाको मासिक रु दुई लाख कमाइ

On: January 11, 2026 4:32 PM
Follow Us:


म्याग्दीका २० वर्षिय एक युवाले घरमा नै उद्यम संचालन गरेर मासिक रु दुई लाख बढी आम्दानी गर्दै आउनुभएको छ ।
म्याग्दीको बेनी नगरपालिका वडा नं ७ मंगलाघाटका २० वर्षिय राजन पौडेलले मंगलाघाटमा ‘बेनी क्लिन लन्ड्री’ संचालन गरी मेसिन मार्फत कपडा धुने व्यवसायबाट दैनिक रु १० हजार बढी कमाइ गर्दै आउनुभएको छ ।
वैदेशिक रोजगारीतर्फ युवाको आकर्षण बढिरहेका बेला जाँगर र आँट हुने हो भने गाउँमा नै बसेर उद्यम गरे पनि विदेशमा भन्दा बढी कमाउन सकिने र आत्मनिर्भर बन्न सकिने स्पष्ट सन्देश राजनले दिनुभएको स्थानीय शेरबहादुर खड्काले बताउनुभयो । अध्ययनसँगै व्यवसायलाई अघि बढाउँदै राजनले बेनी र बागलुङमा गरी दुई स्थानमा ‘क्लिन लन्ड्री’ सञ्चालन गरी दैनिक १० हजार रुपैयाँसम्म आम्दानी गरिरहनुभएको उहाँले बताउनुभयो ।


आफ्नै घरबाट सुरु गरिएको बेनी क्लिन लन्ड्रीलाई व्यवस्थित बनाउँदै पौडेलले बागलुङ बजारमा समेत सेवा विस्तार गर्नुभएको हो । आधुनिक मेसिन प्रयोग गरी लुगा धुने, सुकाउने र प्रेस गर्ने सेवा प्रदान गर्दै आएको उक्त लन्ड्रीले छोटो समयमै बजारमा राम्रो पहिचान बनाएको छ ।


म्याग्दी बहुमुखी क्याम्पसमा स्नातक तह (बी.ए.) दोस्रो वर्षमा अध्ययनरत पौडेलका अनुसार विद्युत्, सर्फ, पानी, भाडा, मर्मत तथा अन्य सबै खर्च कटाएर पनि दैनिक पाँच हजार रुपैयाँभन्दा बढी बचत हुने गरेको छ ।
“पढाइसँगै केही गर्नुपर्छ भन्ने सोचले व्यवसाय सुरु गरेँ,”उहाँले भन्नुभयो, “सेवामा इमानदार भए ग्राहक आफैं आउँछन्, आम्दानी आफैं बढ्छ ।”स्थानीय बजारमा व्यस्त जीवनशैलीका कारण क्लिन लन्ड्री सेवाको माग बढ्दै गएको छ । यही अवसरलाई पहिचान गरेर अघि बढ्दा स्वदेशमै राम्रो सम्भावना रहेको पौडेलको अनुभव छ । पौडेल ग्राहकको घरमा नै पुगेर कपडा ल्याउने र धोए पछि घरमा नै पु¥याउने (होम डेलिभरी) सेवा प्रदान गर्नुहुन्छ ।
“काम सानो–ठूलो हुँदैन,” उहाँले भन्नुभयो “परिश्रम गर्ने हो भने आफ्नै घरमा बसेर पनि मनग्गे कमाइ गर्न सकिन्छ ।”


उहाँको व्यवसायले स्थानीयस्तरमा सेवा सुविधा थप्नुका साथै रोजगारीको सम्भावनासमेत सिर्जना गरेको बेनी नगरपालिकाका वडा नं ७ का वडाअध्यक्ष रमेश श्रेष्ठले बताउनुभयो ।
“राजन पौडेलजस्ता युवाको पहलले स्वदेशमै उद्यम सम्भव छ भन्ने विश्वास जगाएको छ । यस्ता युवालाई सहयोग र प्रोत्साहन गर्नुपर्छ ।” उहाँले भन्नुभयो ।
ग्राहकहरू पनि पौडेलको सेवाप्रति सन्तुष्ट देखिन्छन् । बेनी क्लिन लन्ड्रीमा नियमित ग्राहक एक सेवाग्राहीले भने,कपडा धुवाउँदै आउनुभएको सन्देश फगामीले भन्नुभयो “समयमै काम हुन्छ, लुगा सफा र सुरक्षित हुन्छन् । स्थानीय युवाले सुरु गरेको व्यवसाय भएकाले हामीलाई पनि गर्व लाग्छ ।”


राजन पौडेलको यो सफलताले रोजगारीका लागि विदेश जानैपर्छ भन्ने मानसिकतालाई चुनौती दिएको छ । स्थानीय स्रोत, सीप र बजारलाई सही रूपमा उपयोग गर्न सके युवाले स्वदेशमै सम्मानजनक जीवनयापन गर्न सक्ने उदाहरण बनेको छ ।

Leave a Comment