हरिकृष्ण गौतम
जिल्ला प्रशासन कार्यालय म्याग्दीले आमाको नामबाट पहिलोपटक नागरिकता प्रदान गरेको छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा नागरिकताबाट बन्चित हुनुभएकी म्याग्दीको मालिका गाउँपालिका–५,देविस्थानकी २२ बर्षिया सिमा पुनलालाई प्रमुख जिल्ला अधिकारी रविन्द्र आचार्यले सोमबार वंशजका आधारमा नागरिकता प्रदान गर्नुभएको हो । नागरिकता ऐन,२०६३ को दोस्रो संशोधन तथा नियमावलीको चौथो संशोधन बमोजिम पुनलाई ५६ वर्षीया आमा लिलसरा पुनको नामबाट नागरिकता प्रदान गरिएको सहायक प्रजिअ कुलप्रसाद आचार्यले बताउनुभयो ।

नेपाल नागरिकता (चौथो संशोधन) नियमावली,२०८२ राजपत्रमा प्रकाशन गरेसँगै नागरिकता ऐन २०६३ को व्यवस्था कार्यान्वयन गरिएको सहायक प्रजिअ आचार्यको भनाई छ । नागरिकता प्राप्त गरेपछि पुनले आफ्ना रोकिएका कार्यहरू अगाडी बढ्ने बताउनुभयो। ‘नागरिकताले अब मेरो परिचय खुलेको छ, आमाको नामबाट नागरिता पाउँदा निकै उत्साहित छ’ पुनले भन्नुभयो । छोरीको हातमा नागरिकता परेपछि आमा लिलसराले आफ्नो जन्मपछिको अर्को महत्वपूर्ण जिम्मेबारी पूरा भएको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी आर्चायले संविधान तथा प्रचलित कानुनअनुसार नागरिकका हकअधिकार सुनिश्चित भएको बताउनुभयो । जन्मदिने बुबाको परिचय नभएको अवस्थामा आमाको नामबाट नागरिकता लिन आवश्यक प्रक्रियाका बारेमा स्थानीय तहलाई समेत जानकारी गराइएको प्रजिअ आचार्यको भनाई छ । बाबुको पहिचान नखुलेकाको अवस्थामा म्याग्दीमा विगतका बर्षमा प्रष्ट कानुनी आधार नहुदाँँ नागरिकताबाट बन्चित भएकालाई सहज भएको छ । जिल्ला प्रशासन कार्यालयमा हालसम्म तीनजना किशोरीले आमाको नामबाट नागरिकता लिन आवश्यक कागजातहरु प्रक्रियामा रहेको छ ।










