ध्रुवसागर शर्मा/उमेरले एक सय वर्ष पार गर्नुभएको थापा आफ्नी ८४ वर्षिया श्रीमती खिरकुमारी थापा र ७९ वर्षिया साली तुलकुमारीसँगै आफन्त (भाइका छोरा) हिराबहादुर थापाको घरमा आश्रय लिएर बसिरहनुभएको छ । उहाँका आफ्ना छोरा छैनन् । आफ्नै घर छैन, बाँच्ने आधार बनेको छ—आफन्तको छानो, समाजको संवेदना र सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता ।
वि.सं. १९८३ सालमा जन्मिनुभएका थापा जीवनका धेरै आरोह अबरोहहरु भोग्दै अहिले मृत्यु कुरेर बसेको बताउनुहुन्छ । उमेर र जाडोले थलिएका तीनै जना बृद्ध–बृद्धाको अवस्था अहिले अत्यन्तै दयनीय बनेको छ । नियमित हेरचाह गर्ने आफन्त सधैं साथमा नहुँदा दैनिक जीवन नै कठिन बन्दै गएको छ ।
थापा दम्पतिको पीडादायी अवस्थालाई महसुस गर्दै स्थानीय समाजसेवी तथा म्याग्दी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख कृष्णबहादुर थापा र बेनी नगरपालिका वडा नं २ का पूर्व वडासदस्य चन्द्रबहादुर कुवँरले शताब्दी पुरुष थापालाई न्यानो कपडा र खाजाका लागि खानेकुरा सहयोग स्वरूप प्रदान गर्नुभएको छ । त्यसैगरी स्थानीय झकबहादुर थापाले उहाँ बस्ने ठाउँ सरसफाइ गरिदिनुका साथै आगो बाल्नका लागि दाउरा र अन्य सामग्रीहरु उपलव्ध गराइदिनुभएको शताब्दी पुरुष थापाले बताउनुभयो ।
यही पुस २० गते राससमा शताब्दी पुरुष थापाको समाचार प्रकाशित भएपछि विभिन्न संघ संस्था,बेनी नगरपालिका र स्थानीयले उहाँको अवस्थाप्रति चासो देखाउनुका साथै आवश्यक सहयोग गर्ने बताएका छन् ।
“मलाई भेट्न र मेरो अवस्था बुझ्न धेरै जना आउनुहुन्छ,केही सहयोग पनि गर्नुहुन्छ,” थापाले भावुक हुँदै भन्नुभयो । उहाँको आँखामा पीडासँगै समाजप्रतिको भरोसा झल्किन्थ्यो।
यसैबीच बेनी नगरपालिकाका प्रमुख सुरत केसीले नगरपालिकाको तर्फबाट थापासहित तीनै जना जेष्ठ नागरिकलाई न्यानो कपडा र अन्य आवश्यक सहयोग उपलब्ध गराइने बताउनुभएको छ । जेष्ठ नागरिकको अवस्था चिन्ताजनक रहेको उल्लेख गर्दै नगरप्रमुख केसीले आफन्तको अनुमति भए जेष्ठ नागरिक आश्रममा राख्दा उनीहरूको जीवन सहज हुने धारणा व्यक्त गर्नुभयो ।
“यो उमेरमा नियमित हेरचाह, स्वास्थ्य सेवा र सुरक्षित बसोबास अत्यावश्यक हुन्छ,” नगरप्रमुख केसीले भन्नुभयो । शताब्दी पुरुष खड्गबहादुर थापाको कथा केवल एक व्यक्तिको पीडा होइन, यो समाजको परीक्षा हो । जाडोले कठ्यांग्रिएका यी वृद्ध शरीरले राज्य, समाज र समुदाय र आफन्तसँग एउटै प्रश्न सोधिरहेका छन्, हामीले आफ्ना जेष्ठ नागरिकलाई कति न्यानो साथ दिइरहेका छौँ ?
सरकारले दिने जेष्ठ नागरिक सुरक्षा भत्ताबाट उहाँहरुको गुजारो चलेको भए पनि हेरचाह र स्याहारसुसार गर्ने व्यक्ति नहुँदा समस्या हुने गरेको छ । यसै त बृद्ध शरीर त्यसमाथि अत्यधिक रुपमा बढेको चिसोका कारण ठूलो समस्या भएको उहाँहरु बताउनुहुन्छ ।











