हरिकृष्ण गौतम
म्याग्दीको सदरमुकाम बेनीमा बुधवारदेखि ११औं संस्करणको माघेसङ्क्रान्ति मेला, खाना महोत्सव तथा कृषि प्रदर्शनीको अवसरमा जिल्लाका उत्कृष्ट उद्यमीलाई सम्मान गरिएको छ । म्याग्दी उद्योग वाणिज्य संघ र महिला उद्यम विकास समिति म्याग्दीले जिल्लाभित्र लामो समयदेखि विभिन्न उद्यमबाट स्थापित उद्यमीलाई नगद सहित सम्मान गरेको हो ।
सम्मानित हुनेमा धवलागिरी गाउँपालिकाबाट सिता कृषि फार्मकी सिता थापा,अन्नपूर्ण गाउँपालिकाबाट हरिमुल कृषि समुहकी टिका पाइजा तिलिजा, रघुगंगा गाउँपालिका बेगखोला अगरबत्ती उद्योगकी सिरमाया पुर्जा,मालिका गाउँपालिका धौलागिरी अल्लो उद्योगकी नेकसरा पुन, बेनी नगरपालिका बेलढुंगा स्वर्गाआश्रम फार्मकी कुमारी थापा, रेनु टेलरिङ एण्ड बुटिक हाउसकी रेनु मल्ल शाही र जलजला गाउँपालिकाबाट कालिगण्डकी चाउचाउ उद्योगकी सञ्चालक अनिता मल्ल रहनुभएको छ ।
सम्मानित हुनेलाई नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष चन्द्रप्रसाद ढकाल,म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष सुविन श्रेष्ठ र महिला उद्यम विकास समितिकी अध्यक्ष अम्किबा श्रेष्ठले सम्मान गर्नुभएको थियो । जिल्लाभित्र महिला उद्यमको क्षेत्रमा फरक फरक बिधामा उत्कृष्ट भएकालाई आगामी दिनमा समेत सम्मान गरिने समितिकी महासचिव प्रमिला जोशी श्रेष्ठको भनाई छ ।
‘उद्योग, व्यापार र कलाको विकास गरौं, संस्कृतिको संरक्षण गर्दै पर्यटन प्रवद्र्धन गरौँ’ भन्ने मूल नारासहित आउँदो माघ ३ गतेसम्म सञ्चालन हुने मेलामा स्थानीय उत्पादनहरुको निःशुल्क प्रदर्शनीको व्यवस्था मिलाइएको छ । मेलामा कृषि र औद्योगिक उत्पादनहरु, विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, लोकनृत्यसहित झाँकी र कलाकारहरुको विभिन्न प्रस्तुती, उद्यमीहरुको बीचमा टोपी, दुनाटपरी र बाटेको धुप बनाउने प्रतिसर््पर्धालगायत रहेका छन् ।









