म्याग्दीमा हुलाक हुलाक सेवालाई प्रभावकारी बनाउन अतिरिक्त हुलाकमा कार्यरत कर्मचारीलाई सदरमुकाम बेनीमा अभिमुखीकरण तालिम सञ्चालन गरिएको छ ।
सुचना प्रविधिको अत्याधुनिक विकास सँगै हुलाक सेवाको प्रभाविकारिता खुम्चिँदै गएको अवस्थामा अतिरिक्त हुलाक कार्यालयमार्फत प्रदान गरिने सेवा, काम, कर्तब्य र अधिकारका साथै ब्यवहार परिवर्तन सम्बन्धि अभिमुखीकरण तालिममा हुलाकले सरकारी तथा गैरसरकारी संस्थाका चिठीपत्र आदानप्रदान मात्रै नगरी व्यक्तिगत र पारिवारिक प्रयोजनका लागि सेवाग्राहीलाई आर्कषित गर्नुपर्नेमा जोड दिइएको थियो ।

तालिममा एकीकृत सेवा कार्यालयका प्रमुख सम्सेर घर्ती क्षेत्री र नेपाल पत्रकार महासंघ म्याग्दीका अध्यक्ष हरिकृष्ण गौतमले सूचना प्रविधिको प्रयोगसँगै हुलाकको समेत महत्व रहेको बताउनुभएको थियो । पछिल्लो समय सेवाग्राही घटेको अवस्थामा सरकारले हुलाकको प्रयोगलाई अनिवार्य गर्ने विभिन्न माध्यममा ध्यान दिनुपर्नेमा जोड दिइएको थियो ।

अभिमुखीकरण तालिममा कार्यालय प्रमुख रमेश थापा, खरिदार मिन बरुवालले सहजीकरण गर्नुभएको थियो ।अतिरिक्त हुलाक कार्यालय रुमका लालप्रसाद पुनको अध्यक्षता, सूचना अधिकारी कला शर्मा रिजालको सञ्चालनमा सम्पन्न भएको तालिममा सहभागिले पहिलोपटक तालिमार्फत धेरै सिक्ने अवसर पाएको बताएका थिए ।
जिल्लाभर रहेका अतिरिक्त हुलाक कार्यालयमा कार्यरत कर्मचारीले सेवाप्रवाह गर्ने गरेपनि क्षमता विकास तालिमको अवसर पाएका थिएनन् । सोही अवसरमा कर्मचारीलाई पोशाक समेत वितरण गरिएको थियो ।
म्याग्दीमा एक जिल्ला हुलाक कार्यालय, पालिकास्तरीय हुलाक कार्यालय र २८ अतिरिक्त हुलाक कार्यालय रहेको छ । हुलाक कार्यालयमार्फत सरकारी तथा ब्यक्तिगत चिठीपत्र मात्रै नभई दैनिक प्रयोग हुने आधारभूत कागजात सहित एफ.एम. रेडियो नवीकरण पत्रपत्रिकाको लोक कल्याणकारी विज्ञापनको भुक्तानी, प्रेसपास नवीकरण तथा अनुगमन लगायतका सेवा प्रवाह पनि सोही कार्यालयबाट भइरहेको छ ।









