नवीन जुग्जाली
जीवनमा सफलता र असफलताको कुनै मूल्य छैन, मूल्य हुन्छ भने केवल सङ्घर्षको हुन्छ । –शिवपुरी बाबा
हामी पिपलको रुखलाई बाहिरबाट झट्ट देखेर भन्ने गर्छाैं । वाह ! कति शक्तिशाली रुख रहेछ । तथापि रुख शक्तिशाली हुनुको रहस्य हामीलाई थाहा भएको हुँदैन । पिपल सजिलै शक्तिशाली भएको भने होइन । जब पिपलको जराले कठोर भन्दा कठोर भूमिलाई छिचोलेर गहिराईको यात्रा गर्छ । तब पिपलको रुखले आकाशतिरको यात्रा उत्तिकै सशक्त रुपले गर्छ । जब पिपलको जराले पहाडको चट्टानलाई फोडेर नयाँ यात्राको सुरुवात गर्छ ।

तब पिपलको रुख अझ शक्तिशाली भएर उभिन सुरु गर्छ । यसर्थ हाम्रो बाहिरको जिन्दगी शक्तिशाली बन्नका लागि ध्यानको जीवनले निश्चय नै गहिराईको यात्रा गर्नुपर्छ भन्ने कुरा विभिन्न युगमा जन्मेका युगपुरुष महापुरुषहरुको जीवनीले प्रमाणित गरिसकेको छ । मन मनुष्यको जरा हो, ध्यान यसको मलजल हो भने मनको धरातल भनेको अन्तरआत्मा हो । जतिजति हामी ध्यान गर्छौँ त्यति त्यति मनरुपी जराले गहिराइसम्मको यात्रा गर्छ ।
मनले जति धेरै गहिराइ लिन्छ त्यति नै मनुष्यको जीवन शक्तिशाली बन्छ । आजको दुनियाँ पूरै दुःखी छ । अशान्त छ, कमजोर छ । यसको सिधा कारण हो उसले आफ्नो जीवन पद्धतिमा ध्यान छुटाएको छ । जुन कुराले जिन्दगीलाई धन्य बनाउन सक्थ्यो त्यो कुरा उसले गुमाएको छ । तसर्थ सारा मान्छेले यहाँनेर मूलभूत रुपमा चुकेको छ । जब एक दिन ध्यानी बन्ने चेत खुल्छ । तब उनीहरुमा जीवनमा आमूल परिवर्तन आउनेछ । त्यतिबेला उनीहरुले वास्तविक जीवनको अनुभव र अनुभूति गर्नेछन् ।

वास्तवमा उनीहरुले गरेको अनुभव र अनुभूति आत्मज्ञान हुनेछ र कालान्तरमा आत्माज्ञानी बन्नेछ । ज्ञानले अज्ञानको हरण गर्नेछ । यसरी दुःखको मूल कारण अज्ञान रहेछ भनी अन्तरबोध हुनु नै सौभाग्य हो ।

यस्ता सौभाग्यशाली व्यक्तिले मात्र समर्पण गर्न सक्छ । ईश्वरमा होस् या कुनै गुरुहरूमा होस् यदि उसले सम्यक समर्पण दर्शाउन सक्यो भने एकदिन ऊभित्र अदम्य साहसको उदय हुनेछ । यसरी आफ्नो अन्तरमा साहस उदय भएका भक्तहरु वास्तवमै साहसी हुन्छन्, एउटा अर्थपूर्ण जीवन जिउनका लागि साहस सबैभन्दा सुन्दर ऊर्जा हो । यस्तै साहसी साधकको नाम हो पवित्रा बोगटी । जसको जीवन यात्रा कुनै कहालीलाग्दो फिल्म कथा भन्दा कम देखिँदैन ।
कहिल्यै नसोचेको घटना दुर्घटनाहरुको आँधीबेहरी मडारिएर आउँदा ज्यादै कठोर दिनहरु आएका थिए । शोक, चिन्ता, दुःख, पीडा एकैसाथ बज्रपात हुँदा भगवानप्रतिको आशा भरोसाको रोशनी निभेको थियो । चारैतिरबाट अन्धकारले घेरेको थियो । कल्पना गर्न मुश्किल लाग्ने दिनहरुमा धैर्यतापूर्वक आफूलाई सम्हालेकी बोगटीले सन्तुलित एवम् अर्थपूर्ण जीवनका लागि अध्यात्मलाई नै रोजेकी थिइन् । बाहिरी संसारमा हार र जितको परिचक्र चलिरहन्छ तर मनले भने कहिल्यै हार खानुहुँदैन ।
संसार परिवर्तित छ । परिवर्तित संसारसँगै परिस्थितिहरु बदलिन्छ । पलप्रतिपल क्षणप्रतिक्षणमा बदलिई रहने परिस्थितिले मान्छेको मनस्थितिलाई पनि प्रभावित पारेको छ । त्यस अनुरुप नै मनस्थिति विचलित भइरहेको हुन्छ ।
आखिर विचलित मनस्थितिले नै बुद्धि विवेकको जग हल्लाएको हुन्छ । यसर्थ अध्यात्मले बलियो मनस्थिति निर्माण गर्छ । तथापि अध्यात्ममार्गले नै जीवनका सारा अज्ञानता, शोक, चिन्ता, दुःख, भ्रम, असत्य आदि इत्यादि अन्तरमनको क्लेशहरु राम्ररी पखालिदिएको हुन्छ, जसले गर्दा आज बोगटी वैरभाव, दूराग्रहबाट मुक्त भई सद्भाव, समभाव र भक्तिभावको स्तरमा उक्लनुभएको छ ।
मनोक्रान्ति योगबाट अध्यात्मको यात्रा सुरुवात गरेकी बोगटीले नवीन आनन्द योग केन्द्रबाट योग प्रशिक्षक कोर्ष लिई दक्ष योग प्रशिक्षक, डा. योगी विकासानन्द गुरुजीबाट रेकी मास्टर डिग्रीको दिक्षा लिई रेकी मास्टर, अन्तराष्ट्रिय योग प्रशिक्षक अभियन्ता आचार्य राजन शर्माजीबाट अन्तर्राष्ट्रिय योग प्रशिक्षकको प्रशिक्षण लिई अन्तर्राष्ट्रिय योग प्रशिक्षकको समेत योग्यता हासिल गरिसक्नुभएको छ।
आफैलाई जित्नु अरुलाई जित्नु भन्दा ठूलो काम हो । – साईबाबा
कुनै समय अरुलाई सेवाको भिख माग्नुपर्ने अवस्थामा पुगेकी बोगटीले थोरै समयमा थुप्रै योग्यताहरु हासिल गरी जिल्ला आयुर्वेद अस्पतालमा लामो समय पटकपटक योग प्रशिक्षण, विभिन्न समयमा विभिन्न विद्यालयहरुमा योग प्रशिक्षक, विश्व शान्ति तथा अध्यात्म विज्ञान समाजको अनलाइनमा अखण्ड सञ्चालन हुने कार्यक्रममा भोलेन्टियर जस्ता थुप्रै सेवाहरु गरेर मानव कल्याण गरिसक्नुभएको छ ।
वि.सं. २०७२ सालदेखि हालसम्म नवीन आनन्द योग केन्द्र नेपाल म्याग्दीको केन्द्रीय सदस्यमा रहनुभएको छ । उहाँको जन्म स्व. प्रेमबहादुर बोगटी माता विष्णुमाया बोगटीको कोखबाट वि.सं. २०३१ साल असोज १६ गतेका दिन रत्नेचौर, खबरा भन्ने ठाउँमा भएको हो ।
तीक्ष्ण बुद्धि भएकी बोगटीले आफ्नो शैक्षिक यात्रा श्री भानु मावि रत्नेचौरबाट गर्नुभएको थियो । प्रकाश माध्यमिक विद्यालयबाट वि.सं. २०४७ सालको एसएलसी परीक्षामा उत्तीर्ण, म्याग्दी बहुमुखी क्याम्पसबाट आइए उत्तीर्ण, धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङबाट बिएड उत्तीर्ण र पृथ्वीनारायण क्याम्पस पोखराबाट एमएड समेत उत्तीर्ण गर्नुभएको छ ।
आफ्नो अध्ययनकालमा अब्बल क्षमता भएकी बोगटी अध्यापनमा पनि उत्तिकै अब्बल हुनुहुन्थ्यो । वि.सं. २०५९ सालमा श्री युवावर्ष प्रावि रत्नेचौरबाट आफ्नो शिक्षण यात्रा सुरु गरेकी बोगटीले वि.सं. २०५२ सालदेखि २०५३ सालसम्म श्री सिद्ध प्रा.वि. रितुङ, निस्कोट, वि.सं. २०५३–२०५८ सालसम्म श्री प्रभात प्रावि सिमलचौर र २०५८ सालदेखि हालसम्म बेनी सामुदायिक मावि बेनी म्याग्दीमा अध्यापन कार्यमा अविच्छिन्न रुपमा तत्पर रहँदै आउनुभएको छ । उहाँको योगदानको उच्च मूल्याङ्कन गर्दै समाजका विभिन्न सङ्घसंस्थाहरुबाट सम्मानित भइसक्नुभएको छ ।
ज्ञान र मोतीमा यत्ति फरक छ, “मोती बाहिर चम्किन्छ भने ज्ञान अन्तस्करणमा । – साइबाबा
मालिका गाउँपालिका –७, बिम, म्याग्दी













