हाम्रो समाजमा कुनै पनि संस्कार वा संस्कृतिलाई वर्षको एक पटक उत्सवको रुपमा मनाइने गरेको पाइन्छ । वास्तवमा यस्ता प्रचलनहरु आयातित हुन् हाम्रा होइनन् ।
हाम्रा पूर्वीय दर्शनले अथ्र्याएको संस्कार एवम् संस्कृति नितान्त मौलिक र व्यावहारिक थियो । जुन संस्कारलाई व्यावहारिक अनुसरणमा ल्याउँदा हाम्रो नैतिक आचरण बन्ने गर्दथ्यो । नैतिक आचरणले मान्छेलाई सभ्य बनाउँथ्यो, इमान, इज्जत, सम्मान, प्रेम जस्ता सद्गुणहरुको विकास गर्दथ्यो । जसले गर्दा हाम्रो जीवनशैली सुन्दर हुन्थ्यो ।
तर आज हामी आधुनिक सभ्यताको विकासको नाउँमा पश्चिमेली देशहरुको कल्चरहरुलाई सिको गर्ने होडबाजीमा लाग्दा हाम्रा मौलिक सभ्यताहरु पनि पुराना पुस्ताहरुसँगै लोप हुन थालेको छ ।

आजसम्म हाम्रो संस्कार र संस्कृतिले आफूभन्दा ठूला मान्यजनहरुलाई आदर सत्कार गर्ने आफूभन्दा सानालाई माया गर्ने, दीनदुःखीहरुलाई दया गर्ने, आपत्विपत्मा परेकाहरुलाई सहयोग गर्ने, झुटो नबोल्ने, चोरी नगर्ने, वृद्ध मातापिताको सेवा गर्ने, दानधर्मको कर्म गर्ने जस्ता धार्मिक देशनाले विकसित हाम्रा सभ्यताहरुले निर्माण गरेको चारित्रिक गुणहरुले मान्छेलाई मान्छे जस्तो हुन सिकाएको थियो । आज ती सभ्यताहरुको जग दिनप्रतिदिन कमजोर बन्दै गएको छ । भन्नुको अर्थ के हो भने हामीले जिउने जीवन उत्सव जस्तो बन्नुपर्छ भन्ने हो ।
यसर्थ जीवनमा उत्सवको बहार ल्याउन योगले मद्दत गर्छ । योग एउटा प्रयोग हो योगलाई हामीले जतिधेरै प्रयोगमा ल्याउँछौं त्यति नै धेरै परिणाम दिन्छ । जसलाई केवल हामीले आफ्नो अन्तस्करणमा महसुस गर्न सकिन्छ, तर देख्न र देखाउन सकिँदैन । यो नदेखिने परिणामले नै सुक्ष्म रुपले हाम्रो आत्मालार्इा पुलकित बनाएको हुन्छ किनकि योगले हरेक अनेकतालाई एकतामा सम्मिलित गरिदिएको हुन्छ । विभिन्न विचार धाराहरुमा खण्डित चित्त वृत्तिलाई अखण्ड बनाइदिएको हुन्छ ।

जब मान्छेको रुप भेष अनेकताबाट एकतामा रुपान्तरित हुन्छ तब मानव रुप प्रकट हुन थाल्दछ । जब खण्डित चित्त वृत्तिहरु अखण्ड हुन थाल्दछ तब मान्छेको चित्त अमन चयनले छाउन थाल्दछ त्यस पश्चात् मान्छेको जिन्दगी उत्सव बन्न थाल्दछ ।
यसको लागि योगको साधना नित्य रुपमा हुनु जरुरी छ । योगको प्रयोग सतत् हुन आवश्यक छ अनि मात्र हामीभित्र गहिरो महसुसको घनीभूत हुनेछ । हाम्रा हृदयको धड्कनहरु आनन्दले स्पन्दित हुनेछ र हामीले फेर्ने प्रत्येक श्वासप्रश्वास सुखद हुनेछ । यसरी नित्य र निष्ठाको साधना पश्चात् मात्र साधकभित्र दुर्लभ रुपमा घट्ने घटना हो ।
यस्तो महान विद्यालाई अचेलका आम मान्छेहरुले एकदिनको उत्सव मनाएर झारा टार्ने फेसनमा उन्मुख देखिन्छन् । यसैगरी यदि एउटा कृषकले एक दिन मात्र कृषि उत्सव मनाएर बसेको भए सारा धर्ती भोको पथ्र्यो । यदि एउटा योग साधकले एक दिन मात्र उत्सव मनाएर बसेको हुन्थ्यो भने हाम्रा पूर्वीय समाजमा आत्मज्ञानको खडेरी पर्ने थियो ।
यदि एउटा वैज्ञानिकले एकदिनमात्र उत्सव मनाएर हिँडेको हुन्थ्यो भने आज संसारमा विज्ञानको चमत्कार देख्न पाइँदैनथ्यो । यसर्थ एक दिने उत्सव मनाउने फेसनमा होइन नित्य र निरन्तर रुपमा साधना गर्ने मिसन बनाउनुपर्छ । ढोँगी, पाखण्ड र आलस्य जस्ता स्वभावलाई परित्याग गरी उत्साह, उमङ्ग, साहस र सङ्कल्पमा जिउने पुरुषार्थ एवम् सामथ्र्य जनजनमा जागोस् भनी एघारौँ राष्ट्रिय योग दिवस २०८२ को पावन अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
नवीन जुग्जाली, मालिका गाउँपालिका –७, बिम, म्याग्दी














