यहाँ बसोबास गर्ने मगर र छन्त्याल समुदायले माघे सङ्क्रान्ति पर्वलाई उल्लासपूर्वक मनाइरहेका छन्। जिल्लामा बाहुलता रहेको मगर समुदायले माघे सङ्क्रान्ति र साउने सङ्क्रान्तिलाई विशेष महत्वका साथ मनाउने गर्दछन्। अल्पङ्ख्यक छन्त्याल समुदायले माघे सङ्क्रान्तिलाई सबैभन्दा ठूलो पर्वका रूपमा मनाउने गर्दछन्।
साउने सङ्क्रान्तिलाई हिउँद र माघे सङ्क्रान्तिलाई बर्खा सुरु भएको दिनका रूपमा मगर समुदायले धुमधामका साथ मनाउने चलन रहेको छ । माघे सङ्क्रान्तिमा आफन्त र चेलीबेटीलाई बोलाएर मिठामिठा परिकार खुवाउने चलन छ, । प्रकृतिका पुजारी मगर समुदायले साउने सङ्क्रान्तिलाई हिउँद र माघलाई बर्खा सुरु भएको दिनका रूपमा मान्ने गर्दछन्।
यो पर्वलाई माइती र कुटुम्बको भेटघाट, शुभकामना आदानप्रदान र खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। मगर बस्तीमा माघे र साउने सङ्क्रान्तिमा भेला भएर नाचगान गर्ने, पुख्र्यौली नृत्य देखाउने र खुसी साटासाट गरी रमाइलो गर्ने चलन रहेको छ । चेलीबेटीहरू तरुल र सेलरोटी, फलफूल लिएर माघे सङ्क्रान्तिमा माइतीघर जान्छन्।यो पर्व मनाउन सहर, बजार र विदेशबाट मगर समुदाय जन्मथलोमा फर्किने गर्दछन्। म्याग्दीको सदरमुकाम बेनी बजारमा दुई सय वर्षअघि बस्ती बसेदेखि माघे सङ्क्रान्तिको अवसरमा मेला लाग्ने प्रचलन रहेको छ ।

यसबर्ष ११ औं माघे संक्रान्ति मेला बुधबारदेखि सुरु भएको छ । चामल, कोदो, भाँगो, डोका, डाली, ठेका, घ्यू, तामा, फलामबाट बनेका सामग्री बिक्री गर्न वरपरका मानिसहरू बेनीको माघे सङ्क्रान्ति मेलामा आउने गरेको बेनीका अगुवा दलप्रसाद श्रेष्ठको भनाई छ । सङ्क्रान्तिको मेला ग्रामिण क्षेत्रबाट आउनेहरुका लागि किनमेलको माध्यम रहेको थियो ।
हरेक तीन÷तीन वर्षमा स्थानीय उत्पादन, कला, संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले यहाँ महोत्सव आयोजना गर्न थालिएपछि पुरानो परम्परा हराएको छ। महिला उद्यम विकास समितिले महोत्सव नहुने वर्षमा माघे सङ्क्रान्ति मेला सञ्चालन गर्दै आएको छ। मघे संक्रान्ति मेलामा पाइने तरुल अहिले बजारमा निकै कम देखिन्छ ।











