---Advertisement---

म्याग्दीका मगर समुदायले माघी पर्व मनाए

On: January 15, 2026 4:48 PM
Follow Us:

म्याग्दीका मगर समुदायले बिहिबार माघेसङ्क्रान्ति पर्व हर्षोल्लासपूर्वक मनाएका छन्। आफ्नो जातीय भेषभूषामा सजिएका युवायुवती सोरठी, पुख्र्यौली, सालैजो, यानीमाया, ख्याली भाकाका साथै विभिन्न लोकगीत र नृत्यहरूमा छमछमी नाच्दै माघेसङ्क्रान्ति पर्व मनाएका हुन्।


माघेसङ्क्रान्ति पर्वको अवसर पारेर मगर संघ म्याग्दीले सदरमुकाम बेनीमा प्रभातफेरी र्यालीको आयोजना गरेको थियो। माघेसङ्क्रान्ति पर्वलाई मगर समुदायले ठूलो चाडका रूपमा लिने गर्दछन् भने सोहीअनुसार उनीहरूले मनाउँदै आएका छन्। जनजातिहरूको बाहुल्यता भएको जिल्ला म्याग्दीमा मगर समुदायले माघेसङ्क्रान्ति पर्वलाई शुभकामना आदानप्रदानसहित बृहत् सांस्कृतिक कार्यक्रमको आयोजना गरी भव्यरूपमा मनाएका छन्। मगर भेषभूषामा सजिएका युवायुवती र बुढापाकाहरूसहितको र्यालीमा सालैजो भाकासँगै युवायुवती र बुढापाकाहरू छमछमी नाचेका थिए।


माघेसङ्क्रान्तिका अवसरमा बेनीमा मगर जातिको पहिचान झल्कने भेषभूषा, खानपान तथा सांस्कृतिक झाँकीसहित कार्यक्रमहरू गरिएको छ। मकर सङ्क्रान्तिका रूपमा चिनिँदै आएको माघी पर्वको अवसरमा मगर समुदायले जातिय भेषभूषमा सजिएको सांस्कृतिक र्यालीमा सदरमुकाम बेनीबजार परिक्रमा गरेका थिए।

उनीहरूले मगर समुदायमा लोपोन्मुख सोरठी, पुख्र्यौली र मारुनी नृत्यसमेत देखाएका थिए। मगर समुदायले परापूर्वकालदेखि नै प्रकृतिको पूजाआजा गरी हर्षोल्लासपूर्वक माघेसंक्रान्ति पर्व मनाउँदै आएका छन्। माघेसङ्क्रान्तिलाई प्राकृतिकरूपमा वर्षे सिजन शुरु भएको पर्वका रूपमा मनाउने गरिएको मगर जिल्ला समन्वय समितिका अध्यक्ष खमबहादुर थापाले बताए ।


माघ महिनादेखि वर्षात्को समय शुरु भएको संकेका रूपमा लिने गरिएको छ। मगर समुदायले यस पर्वमा आफन्तजन एकापसमा भेला भई शुभकामना साटासाट र विविध सांस्कृतिक कार्यक्रम गरेर मनाउने प्रचलन रहेको छ । प्रकृतिमा विश्वास गर्ने भएकाले आफूहरूले परम्परादेखि नै उभौली पर्वका रूपमा माघेसङ्क्रान्तिलाई मनाउने गरिएको उनले जानकारी दिए। खेतीबाली र पशुपालन राम्रो होस्, रोगव्याधी नलागोस्, दुःखद घटना नघटून् भन्ने कामनासहित माघेसङ्क्रान्तिमा पूजा गर्ने र देवतालाई खुसी बनाउने चलन रहेको मगर समुदायका अगुवाहरुको भनाई छ ।


मगर समुदायले मात्र मनाउँदै आएको परम्परागत माघेसंक्रान्ति पर्वलाई पछिल्लो समय अन्य जातजातिका समुदायले पनि मनाउन थालेका छन्। उनीहरूले माघेसङ्क्रान्ति पर्वलाई विशेष महत्त्वका साथ प्रमुख चाडका रूपमा मनाउने गर्दछन्।

आजदेखि सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने भएकाले यस पर्वलाई मकरसङ्क्रान्ति पनि भन्ने गरिन्छ।कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेशका पूर्वमन्त्री रेशमबहादुर जुग्जालीले गरेका थिए । कार्यक्रममा मगर कलाकारहरूले थालीनाच, सोरठी र पुख्र्यौली नृत्यलगायत गीतसगीत प्रस्तुत गरेका थिए।

Leave a Comment