निर्वाचन आयोगले नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई आधिकारिकता दिने निर्णय गरेको छ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र अर्का एक आयुक्तले कांग्रेसको दुवै पक्षबाट पेस भएका विवरण अध्ययन गरी विशेष महाधिवेशनले निर्वाचित गरेको कार्यसमिति नै आधिकारिक हो र यही विवरण आयोगमा अद्यावधिक गर्ने निर्णय गरेको हो।
आयोगका तीन पदाधिकारीमध्ये दुई जनाले पक्षमा र एक जनाले विपक्षमा राय दिँदा बहुमतका आधारमा निर्णय गरिएको हो। प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी र निर्वाचन आयुक्त जानकी तुलाधरले दिने पक्षमा निर्णय दिएका थिए भने अर्का आयुक्त सगुन शमशेर राणा विपक्षमा थिए।
सभापति थापा लगायत नवनिर्वाचित कार्यसमितिले आफ्नो आधिकारिकता दाबी गर्दै बिहीबार दिउँसो निर्वाचन आयोगमा विवरण अद्यावधिक गर्न माग गरेको थियो। यसका लागि थापाले आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीलाई तथ्य, प्रमाण र कागजातहरू बुझाएका थिए।















